२०८३ साउन १० आइतबार

१४ अर्बको हकप्रद शेयर बिक्री खुल्दै, धितोपत्र बोर्डले दियो अनुमति

ई आर्थिक    आइतबार, असार २७ २०७८
4.3K
Shares
१४ अर्बको हकप्रद शेयर बिक्री खुल्दै, धितोपत्र बोर्डले दियो अनुमति

ई–आर्थिक, काठमाडौं । अहिले एक पछि अर्को गर्दै धमाधम साधरण शेयर खुलिरहेको छ । यसैक्रममा नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ ।

कम्पनीको चुक्ता पूँजी २२ अर्ब पुर्‍याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

बोर्डले कम्पनीलाई ११ अर्ब बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । हाल ११ अर्ब बराबरको चुक्ता पूँजी भएको कम्पनीले हकप्रद शेयर बिक्री गरेपछि कूल पूँजी २२ अर्ब बराबर पुग्नेछ ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी गरिरहेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। बोर्डले यही असार ९ गते हकप्रद शेयर बिक्रीको अनुमति दिएको हो ।

यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई रु ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालु आवमा नै हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो । कोषले रु १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले रु एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले रु ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यस्तै बोर्डले चालु आवमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई रु २३ अर्ब चार करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आवमा मात्रै कूल १९ कम्पनी पुगेका छन् ।

मैलुङ खोलाले रु सात करोड ३६ लाख २८ हजार बराबरको साधारण शेयर बिक्री गर्नेछ । बोर्डले कूल १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ ।

शुक्रबार आयोजित एक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले नेपालको धितोपत्रको विकास र विस्तारमा अत्यावश्यक रुपमा गरिने सबै कामलाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन् । यस आधारमा पनि आगामी दिन धितोपत्र बजारको विकास र विस्तारका लागि झनै सुगम बन्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij