२०८३ साउन ९ शनिबार

मेलम्ची खानेपानी आयोजना पनि डुब्यो

ई आर्थिक    बुधबार, असार २ २०७८
15K
Shares
मेलम्ची खानेपानी आयोजना पनि डुब्यो

काठमाडौँ : अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचना डुबानमा परेका छन्।

बाढीका कारण अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ।

त्यहाँका स्थायी संरचना पानीभित्रै भए पनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।

उनका अनुसार हेलिकप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ। नदी बढेकाले ‘हेडबक्स’ लगायत संरचना अहिले पानीमुनि छन्।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताए। निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ।

घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पुर्‍याइएको छ।

अत्यधिक वर्षाका कारण नदीको तह बढे पनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ।

कतिपय स्थानीयमा सुरुङ परीक्षण सुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ।

प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिए। अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij