ई–आर्थिक, काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम आज अपरान्ह सार्बजनिक भयो । सो निर्बाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डेले नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई पराजित गरे । पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरे भने एमालेका खड्काले ३ हजार ६ सय १२ मत ।
निर्बाचन आयोगले परिणाम घोषणा नगर्दै उक्त प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले त्यसको जानकारी प्रधानमन्त्री केपी ओलीलाई गराएको स्रोतले जानकारी दियो । ‘यहाँ चुनाब हारियो भन्दै पोखरेलले प्रधानमन्त्री ओलीलाई भनेका थिए ।’ स्रोतले भन्यो । उताबाट प्रधानमन्त्री ओलीले के भने भन्ने चाहि तत्काल थाहा भएन । तर मुख्यमन्त्री पोखरेल भने मुुसुमुसु हाँसे । निर्बाचन हारेको प्रति मुख्यमन्त्री र एमाले कार्यकर्ताहरुमा कुनै दुखेसो र पश्चाताप भने देखिएको थिएन ।
भर्खरै माओबादीबाट एमाले प्रबेश गरेका पराजित उम्मेद्वार खड्कानिकट केही कार्यकर्ताहरु मुख्यमन्त्री पोखरेल र एमाले कार्यकर्ताहरुको हाउभाउले छक्क पर्दै थिए । ‘पाार्टीको उम्मेद्वार जित्ने निर्बाचनमा पराजित भएको छ । उनीहरुको मुहारमा उस्तै खुसी छ । यसले मलाई कता–कता खिन्न बनाएको थियो ।’ खड्कानिकट कार्यकर्ता भन्छन् ‘यसमा एमालेहरुले हामी नबप्रबेशी एमालेहरुप्रति फरक ब्यबहार त गर्दैछैनन ? भन्ने आशंका जन्मियो ।’
निर्बाचनमा केही तल्लास्तरका कार्यकर्ताहरु पनि रमितेका रुपमा उपस्थित थिए । तिनीहरुको भाबभंगीमा पनि उस्तै थियो । खड्कानिकट एक कार्यकर्ता, जसलाई सबै एमालेले चिन्दैनथे, उनले तिनीहरु के कुरा गर्दा रहेछन् भनेर पत्ता लगाउने निधो गरे । केही थाहा नपाए जस्तो गरी एमाले कार्यकर्ताहरुको झुण्ड वरिपरि गर्दै उभिएर मोबाइल चलाएको बहाना गर्न थाले । त्यसबाट उनलाई सफलता मिल्यो पनि । एमाले कार्यकर्ताहरु प्रधानमन्त्री ओलीले यसो भनेछन् भन्दै हाँस्दै थिए । उनीहरुका अनुसार प्रधानमन्त्री ओलीले मुख्यमन्त्री पोखरेललाई निर्बाचन हारेर चिन्ता लिनै पर्दैन भनेछन् । ओलीले लुम्बिनीमा एमाले उम्मेद्वार हारेर पार्टीलाई राष्ट्रिय सभामा कुनै नोक्सान नभएको बताएछन् । ‘लुम्बिनी प्रदेशबाट हाम्रो सिट जति थियो, त्यति नै छ । यो त माओबादीको सिट गुमेको हो ।’ प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई भनेको कुरा उदृत गर्दै एमाले कार्यकर्ता भन्दै थिए ‘काँगे्रसलाई एक सिट फाइदा भएको छ । त्यसले केही फरक पर्दैन ।’
यसले माओबादीबाट नबप्रबेशीलाई एमालेमा कस्तो ब्यबहार र दृष्टि हुदो रहेछ भन्ने कुरा ती कार्यकर्ताले थाहा पाए । बास्तबमा प्रधानमन्त्री ओलीले भनेजस्तो राष्ट्रियसभामा एमालेलाई नोक्सान चाहि भएको छैन । एमालेका तर्फबाट उम्मेद्वार भएका खड्का यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए । एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । कारबाहीपछि रिक्त पदमा उपनिर्बाचन भएको हो । यसमा नोक्सान माओबादीलाई भएको छ भने फाइदा काँगे्रसलाई भयो ।
लुम्बिनीमा मात्र नभई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाको सदस्यको उपनिर्वाचनमा पनि एमालेलाई कुनै नोक्सान भएन । त्यहाँ पनि माओबादी नै नोक्सान भयो । माओबादीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्बाचित रामबहादुर थापा एमालेमा प्रबेश गरेपछि रिक्त स्थानमा भएको निर्बाचनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देबकोटाले बाजी मारे । एमालेबाट उम्मेद्वार बनेका थापा भने पराजित भए ।
उम्मेद्वार एमालेको तर्फबाट भए पनि यो सिट गुम्दा समेत एमालेलाई कुनै नोक्सान भएको छैन । जितेको भए राष्ट्रियसभामा एमालेको सिट बढ्ने कुरा बेग्लै हो । तर एमालेलाई दुबै निर्बाचन हार्दा पनि राष्ट्रिय सभामा कुनै नोक्सान पुगेको छैन भने माओबादीले दुई सिट गुमाएको छ । यसैप्रति प्रधानमन्त्री ओलीले लक्षित गरेर बोलेको नब आगन्तुक एमाले कार्यकर्ताहरुको बुझाई छ ।