२०८३ साउन ९ शनिबार

एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने

ई आर्थिक    आइतबार, जेष्ठ १६ २०७८
16.8K
Shares
एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने

ई–आर्थिक, काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनुभएको छ । शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले भन्नुभयो, “एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना गर्नु पनि एक हो । यो कार्यक्रम त्यसतर्फ एक कोसेढुङ्गा हुने मैले विश्वास लिएको छु ।” उहाँले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ सङ्गीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको भन्दै यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभाहरु जन्मने विश्वास व्यक्त गर्नुभयो । सन् १९८७ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गर्नुभयो । उहाँले एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र सङ्गीतका माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गर्नुभयो ।

एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले नेपालमा बढिरहेको कोरोना सङ्क्रमणप्रति एनआरएनए निकै चिन्तित र संवेदनशील रहेको बताउनुभयो । उहाँले यो अवस्थामा नेपालमा रहेका सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनएले सक्दो सहयोग सङ्कलन गरी नेपालमा सहयोग पनि पठाइसकेको जानकारी दिनुभयो । प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो ।

कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक राई तथा गायिका बर्देवा, एनआरएनएका उपाध्यक्ष डा बद्री केसी, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष पूनम गुरुङ तथा सञ्चार विभागका सहसंयोजक चिरञ्जीवी देवकोटाले पनि शुभकामना राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij