ई–आर्थिक, काठमाडौं । मन्त्रीपरिषद्को सिफारिसपछि मध्यावधि निर्वाचन घोषणाका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा प्रतिक्रिया दिएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीमा मध्यावधिको रंगिन सपना सरकारका लागि महंगो पर्ने चेतावनी दिएका छन् । प्रवक्ता शर्माले ट्विटरमार्फत अंहकारको वृक्षमा विनाशको फल लाग्ने बताएका छन् ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि शर्माको यस्तो कडा प्रतिक्रिया आएको हो ।
ट्विटमा उनले लेखेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझिराख्नु राष्ट्रपति महोदय र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।’
संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महँगो पर्ने पनि उनको चेतावनी थियो । उनले लेखेका छन्– ‘महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि । इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ।’ उनले थप लेखेका छन्– ‘हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ ।’
जनताको र लोकतन्त्रको अघि हुने भन्दै संविधानलाई पुनर्जीवन दिइने पनि प्रवक्ता शर्माले बताए ।