२०८३ साउन ९ शनिबार

ग्लोबल आइएमई बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड सहयोग

ई आर्थिक    शनिबार, बैशाख २५ २०७८
4.2K
Shares
ग्लोबल आइएमई बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड सहयोग

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई रु. एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो । उक्त सहयोग रकमले इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उपयोग गरिने भएको छ ।

बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा डा भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले स्थापनादेखि नै सामाजिक हितमा विशेष जोड दिएर अगाडि बढेको बताउँदै समाजोपयोगी कार्यमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रा डा कोइरालाले इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौँको बूढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण शुरु गरेको जानकारी दिए । उनले इन्स्टिच्युटले अन्य प्रदेशमा सोही प्रकृतिको सेटेलाइट अस्पताल सञ्चालनको तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij