काठमाडौं । जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार शाखाले जलवायु परिवर्तनसम्बन्धी कूटनीतिक पहलसँगै जलवायुजन्य विपद्को तथ्यांक, वैज्ञानिक प्रमाण र प्रभावको मूल्यांकन गर्नेछ।
शाखाले जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न मन्त्रालय तथा निकायका कामलाई समन्वय गरी आवश्यक सूचना तथा तथ्यांक एकीकृत गर्नेछ। साथै, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु मुद्दा प्रभावकारी रूपमा प्रस्तुत गर्न सरकारको तयारीमा सहयोग गर्ने मन्त्रालयले जनाएको छ।
नेपालमा जलवायु परिवर्तनले संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती थपिरहेको भन्दै यसको प्रभावविरुद्ध अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायको मुद्दा उठाउन शाखा केन्द्रित हुने बताइएको छ।