२०८३ साउन ९ शनिबार

अक्सिजन सहज अवस्थामा राख्न मन्त्रालयको निर्देशन, शहीद गङ्गालालमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु

ई आर्थिक    सोमबार, बैशाख २० २०७८
2.5K
Shares
अक्सिजन सहज अवस्थामा राख्न मन्त्रालयको निर्देशन, शहीद गङ्गालालमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु

ई–आर्थिक, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सबै अस्पताललाई पत्रचार गर्दै नयाँ भेरियन्टसहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

उहाँले अस्पताललाई खाली सिलिन्डर मौज्दात (होल्ड) नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गर्नुभएको छ । साथै मन्त्रालयले सर्वसाधारणलाई अक्सिजन सिलिन्डर अनावश्यक रुपमा जोखिम तरिकाले सञ्चित गर्न र प्रयोग गर्ने खालका गतिविधिलाई हुन नदिनसमेत आग्रह गरेको छ ।

नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्युड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ ।

उहाँका अनुसार अहिले अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ । नेपालमा अक्सिजन ग्यास प्रशस्त भए पनि अक्सिजन सिलिन्डरको अभाव रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ ।

कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रबीच २०७६ माघ १५ गते शहीद सप्ताहका कार्यक्रम पारेर सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुला प्रतिस्पर्धाबाट लिएको हो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार अस्पतालले गर्नेछ । प्लान्ट शुभारम्भपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस कार्यले अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्दै तत्काल कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिनुभयो ।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलायसिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गङ्गालालमै डायलायसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने बिरामीले डायलायसिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।” कार्यक्रममा वडा नं ३ का अध्यक्ष दीपक केसीले अबको केही दिनमा कान्तिको प्लान्ट पनि शुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करिब २०० सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij