ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुर सम्बन्धि ११ वटा मुद्दा दायर गरेको छ । आयोगले बैंक तथा वित्तीय संस्थामा अनियमितता गरी राज्यकोषको रकम दुरुपयोग गरेको अभियोगमा उक्त ११ वटा भ्रष्टाचार सम्बन्धि मुद्दा दायर गरेको हो ।
कुल ४० करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित उक्त मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ । जसमा तत्कालिन रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडबाट भएको कर्जा प्रवाह अनियमिततामा मुद्दा दायर गरेको छ । सो फाइनान्सका सञ्चालक छविरमण अधिकारी, सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोज भेटवाल अनि ऋणी भैरवप्रसाद भेटवाल र रविन लामालगायतलाई मुद्दा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।
नागरिक लगानी कोषको लगानीसमेत रहेको रोयल मर्चेन्टमा कमसल धितोबाट ऋण प्रवाह भएको, कतिपयमा धितो नराखिएको लगायतका आरोप आरोपमा मुद्दामा उल्लेख छ ।