२०८३ साउन ९ शनिबार

गाउँ नै व्यावसायिक तरकारी खेतीमा

ई आर्थिक    मंगलबार, फाल्गुन २५ २०७७
6.7K
Shares
गाउँ नै व्यावसायिक तरकारी खेतीमा

दैलेखको आठबिस नगरपालिका–३ कुमालखाडा गाउँमा स्थानीयले फलाएको तरकारी । तस्बिर : हिक्मतबहादुर नेपाली

दैलेख : विष्णा शाही उमेरले ७५ वर्ष काटिन्। बुढेसकालमा पनि उनी घरायसी काममा अझैं सक्रिय छन्। उनको परिवारका सबै सदस्य व्यावसायिक तरकारी खेतीमा जुटेका छन्। छोराबुहारी र नातिसँग रमाउँदै बारीमा तरकारी रोप्न, गोडमेल गर्न विष्णाले छाडेकी छैनन्।

कुनै बेला नुन र खुर्सानीसँग रोटी खाएर मेलापात, घाँस दाउरा, चुलो चौको गरेको सम्झना उनमा ताजै छ। बारीको डिलमा बसेर तरकारी नियाल्दै उनी भन्छिन् ‘हाम्रो पालामा यसरी तरकारी फलाउनुपर्छ भन्ने थाहै थिएन्, सुक्खा रोटीले पेट भर्नुपथ्र्यो। परम्परागत खेतीबाट वर्षभरि खानसमेत पुग्दैनथ्यो।’ बुढेसकालमा आफ्नो बारीमा लटरम्म तरकारी फलेको देख्न पाउँदा उनी खुसी छन्।

स्थानीय २६ वर्षीया शान्ति सिजापतीले व्यावसायिक रूपमा बन्दाकाउली, आलु, टमाटर खेती गरिरहेकी छन्। एकै सिजनमा तरकारी बेचेर २५ हजार रुपैयाँसम्म आम्दानी गरेको उनी बताउँछिन्। ‘उत्पादन भएको तरकारी दैलेखसहित कालीकोट र अछामसम्म बिक्री हुँदै आएको छ’, उनी भन्छिन्, ‘तरकारी खेतीबाटै परिवारको गुजारा चल्दै आएको छ।’

तरकारी खेती सुरु गरेपछि उनलाई यतिबेला पैसाको अभाव छैन। दुईचार पैसाका निम्ति निकै कष्ट भोगेकी शान्ति भन्छिन्, ‘अहिले तरकारी व्यवसाय त पैसा फल्ने बोटजस्तै लागेको छ।’ यस्तै सपना शाही गाउँमा गठन भएको चेतनशील फलफूल तथा कृषक समूहकी कोषाध्यक्ष हुन्। उनी समूहमा बसेर तरकारी खेती गर्न सुरु गरेको चार वर्ष भयो।

उनको दिनचर्या चुलोचौको र खेतबारीमै बित्छ। ‘हाल बारी र परिवारको जीवन दुवै हराभरा हुन थालेको छ,’ सपना गर्वका साथ भन्छिन्, ‘तरकारी खेती गरेरै परिवारले पोषणयुक्त तरकारी खान मात्रै पाएको छैन, मनग्गे आम्दानी पनि भइरहेको छ।’ आठबिस नगरपालिका–३ कुमालखाडा गाउँका ४० जना कृषकको घरघरमा तरकारी उत्पादन भइरहेको छ।

यो गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो। यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ। यहाँका नागरिकले लामो समयसम्म गरिबी, विपन्नता र पछौटेपन भोगे। झन्डै एक दशकअघिसम्म यहाँ एचआईभी संक्रमितको कहालीलाग्दो अवस्था थियो। अहिले रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार फेरिन थालेको छ।

गाउँका सबै घरपरिवार व्यावसायिक तरकारी खेतीसँगै पशुपालनमा जोडिएका छन्। यहाँका कृषकको व्यावसायिक तरकारी खेतीमा आकर्षण बढेको छ। यसले गाउँलाई आत्मनिर्भर बनाउन मद्दत पुगेको छ। गाउँमा दुई वटा फलफूल तथा कृषक समूह सक्रिय छन्। बाँसघारी गौरीशंकर फलफूल तथा कृषक समूह र चेतनशील फलफूल तथा कृषक समूहमा गरी ४८ जना आबद्ध छन्। तीमध्ये ४० जनाले व्यावसायिक तरकारी खेती गरिरहेका छन् भने आठ जनाले बाख्रापालन गरिरहेका छन्। यो गाउँलाई नमुना गाउँ बनाउने अभियान अघि सारिएको समाचार हिक्मतबहादुर नेपालीले आजको अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij