२०८३ साउन ९ शनिबार

बिर्तामोड उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहको जित, अध्यक्ष बने सिवाकोटी (सबैको मत परिणाम सहित)

ई आर्थिक    मंगलबार, फाल्गुन १८ २०७७
7.5K
Shares
बिर्तामोड उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समूहको जित, अध्यक्ष बने सिवाकोटी (सबैको मत परिणाम सहित)

ई–आर्थिक, बिर्तामोड : झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायी समूहले बहुमत सदस्य जित हासिल गरेको छ ।

मुख्य र धेरै पदहरुमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक व्यावसायिक प्यानलले जित हासिल गरेको छ । केही पदहरुमा भने नेकपा र राप्रपाको संयुक्त व्यवसायीको प्यानल आफ्नो उपस्थितिलाई कायम राखेको छ । दश जना पदाधिकारीमध्ये अध्यक्षसहितको ८ जना लोकतान्त्रिकले जितिरहँदा संयुक्तले महासचिव र वाणिज्य सचिवसहित दुईवटा पदाधिकारी आफ्नो पक्षमा पार्न सफल भएको हो । त्यस्तै खुल्ला सदस्य ७ र दुई महिला सदस्यगरी ९ जनामध्ये लोकतान्त्रिकले ६ र संयुक्तले ३ पद जितेका छन् ।

प्राप्त मत परिणाम अनुसार बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी विजयी भएका छन् । लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा विजयी बनेका शिवाकोटीले २१३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले १६१५ मत प्राप्त गरेका छन् । उनीहरुबीच ५२४ मत अन्तर परेको छ । यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपाने २११६ मतसहित विजयी बनेका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका नारायणप्रसाद चिमोरियाले १५९२ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरे १९४० मतसहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका प्रकाश घिमिरेले १७१८ मत प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले २२७८ मतका साथ जित हासिल गरिरहँदा संयुक्त प्यानलका रामकृष्ण अधिकारीले १३२३ मत प्राप्त गरेका छन् । महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनाली १८४३ मत प्राप्त गरी विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले १८१७ मत प्राप्त गरेका छन् ।

उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडा सर्वाधिक २५२० मतसहित विजयी बनिरहँदा संयुक्त प्यानलका धनबहादुर डाँगीले मात्र १०६३ मत प्राप्त गरेका छन् ।
त्यस्तै वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेल १९६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले १६७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले २१२२ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिष्पर्धी संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले १५२४ मत प्राप्त गरेका छन् ।
महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १९७० मतले जित हासिल गरिरहँदा संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले १६२४ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी खुल्ला सदस्यमा विशाल थापा २०९९, गुन्जन प्रसाई २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९ , बलराम सिटौला राम १८६१ , गौरीशंकर गुप्ता टिंकु १७९० तथा महिला सदस्यमा तुलसा ढकाल खनाल २१९५ र रुचि शिवाकोटी २०७६ मतसहित विजयी बनेका छन् । खुल्ला सदस्यमा गोविन्द कार्की १६४०, वलबहादुर लिम्बु विसन १७७५, भगिरथ लुइटेल १४२२, मनोजकुमार शाह १७३२, सन्नी गोयल १७१६, सूर्यकुमार खतिवडा १६४६ तथा महिला सदस्यमा सिर्जना अग्रवाल सोनीले १७६६ मत ल्याएका छन् ।

काँग्रेसनिकट लोकतान्त्रिक प्यानलले अधिकांश पदमा विजयी हासिल गरिरहँदा नेकपा र राप्रपाको संयुक्त प्यानलबाट राप्रपाका एकजना वाणिज्य सचिव कृष्ण पौडेलले मात्र जितेका छन् । राप्रपाले तीन पदाधिकारी तीन सदस्य पाएको थियो । ११ जनाले उम्मेद्वारी दिएको नेकपाले भने महासचिव र दुई सदस्य गरी ३ पदमा विजयी हासिल गरेको छ । राजनीतिक दलहरुले भिन्नाभिन्नै प्यानल बनाएपनि मतदाताहरुले प्यानलसँगै उम्मेद्वारलाई हेरेर मत दिएको पाइएको छ । मत परिणाम हेर्दा निर्वाचनमा प्यानलसँगै जातीय र क्षेत्रीय राजनीति पनि हावी देखिएको छ ।

आइतबार भएको संघको निर्वाचनको अन्तिम मतपरिणाम सोमबार अबेर राति सार्वजनिक भएको हो । संघको तीनवर्षे कार्यकालका लागि १० जना पदाधिकारीमा ८ जना, ७ जना सदस्यमा ५ जना तथा दुई महिला सदस्यमा एक जना लोकतान्त्रिक समूहका उम्मेद्वार निर्वाचित भएका हुन् ।

संघको चुनावमा नेकपा र राप्रपाले संयुक्त प्यानल बनाएर चुनाव लडेको थियो । संयुक्त प्यानलले पदाधिकारीमा २, सदस्यमा २ र एक महिला सदस्यमा मात्र जित हासिल गरेको छ ।
निर्वाचनमा लोकतान्त्रिक समूहका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा संजिव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे ९राजु०, उद्योग सचिवमा कुशल खतिवडा, कोषाध्यक्षमा दिपेन्द्र राउत र सह–कोषाध्यक्ष (महिला) मा राधिका चुडाल हुमागाई निर्वाचित भएका छन् ।

पदाधिकारीतर्फ नेकपा र राप्रपाको संयुक्त व्यवसायी प्यानलबाट अर्जुनकुमार मैनाली महासचिवमा र कृष्ण पौडेल वाणिज्य सचिवमा निर्वाचित भएका छन् । संघको जनसम्पर्क उपाध्यक्षमा लोकतान्त्रिक समूहका नैनकला भट्टराई निर्विरोध भएकी थिइन् ।

सदस्यतर्फ लोकतान्त्रिक समूहबाट विशाल थापा, दिपक मित्तल, पुकार बराल, जीवनकुमार खड्का र महिला सदस्यमा तुलसा खनाल ढकाल निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट गौरीशंकर गुप्ता (टिंकु), गुन्जन प्रसाईं र महिला सदस्यमा रुचि सिवाकोटी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । संघको आइतबारको मतदानमा ३ हजार ८ सय ५८ मत खसेको थियो । संघमा कुल मतदाता ४ हजार ५ सय ५० रहेका थिए ।

यही निर्वाचनमा बिषयलाई लिएर ई–आर्थिक डट कमले बिर्तामोड उद्योग बाणिज्य संघमा सिवाकोटीको प्यानल बलियो, कोषाध्यक्ष राउत सर्वप्रिय उम्मेद्वार शिर्षकमा समाचार प्रकाशित गरेको थियो । हामीले प्रकाशित गरेको जस्तै यो निर्वाचनमा सिवाकोटी अध्यक्ष रहेको लोकतान्त्रिक प्यानल अगाडी देखिएको छ । कोषाध्यक्षका उम्मेद्वार दिपेन्द्र राउत लोकप्रिय उम्मेद्वार सावित भएका छन् । उनले २१२२ मत ल्याएको छन् । जुन उनका प्रतिस्पर्धी भन्दा धेरै हो भने अन्य उम्मेद्वारको भन्दा पनि बढी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij