ई–आर्थिक, झापा । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी तथा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहित ११ जना बिर्तामोडका व्यापारी रिहा भएका छन् । उनीहरु बुधबार दिउँसो प्रहरी नियन्त्रणमा परेका थिए ।
नियन्त्रणमा लिइएको ६ घण्टापछि उनीहरूलाई रिहा गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बिर्तामोड नगरपालिकाको गेटबाट बुधबार दिउँसो साढे १ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बुधबार साँझ साढे सात बजे उनीहरूलाई रिहा गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
बिर्तामोडको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनका लागि नगरपालिकाको सिफारिस चाहियो भन्दै संघका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षसहितको टोली विगत केही दिनदेखि आन्दोलित थियो ।
बुधबार दिउँसो नगरपालिका गेटमा तैनाथ सुरक्षाकर्मीको घेरा तोड्न खोज्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सहमतिका लागि नेकपा एमालेका झापा अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेल वार्तामा बसेका थिए ।
एमाले अध्यक्ष कार्कीले असार १३ गतेदेखि मिटर उपलब्ध गराउने विषयमा प्रक्रिया थाल्न आफूले पहल गर्ने प्रतिवद्धता जनाएको संघका पूर्व अध्यक्ष कुमार भट्टराईले बताए ।