ई–आर्थिक, काठमाडौं । काठमाडौंदेखि दिक्तेलसम्म सिधा पर्यटक बस सेवा सुरु भएको छ । देश दर्शन बस सेवाले सो पर्यटक बस सेवा शुरु भएको हो । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार सो बस सेवाले दैनिक दिक्तेलबाट एक र काठमाडौंबाट एउटा पर्यटक बस शुरु गरेको हो ।
उक्त बस सेवाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
नेपालका मुख्य शहरहरुमा ३० वर्षदेखि सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकामा सो संस्थाले दशौँ गन्तव्य अन्तर्गत दिक्तेल–हलेसी–काठमाडौं पर्यटक बस सञ्चालन शुरु गरिएको बस सेवाका अध्यक्ष एवम् नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताए ।
सो बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु बिमा, पर्यटकको सेवा दिने तालीम प्राप्त जनशक्ति रहेका छन् । प्रतिव्यक्ति रु एक हजार ५०० भाडा निर्धारण गरिएको बसको टिकट अनलाइनबाट समेत लिन सकिने व्यवस्था मिलाइएको छ । यसअघि सुपर खोटाङ–भोजपुर यातायात प्रालिले दिक्तेल–काठमाडौं माइक्रो भ्यान सेवा शुरु गरेको थियो ।
खोटाङमा सुविधा सम्पन्न बस सेवा सञ्चालनमा आउन थालेपछि देश विदेशका पर्यटक बढ्ने विश्वास रहेको छ ।