ई–आर्थिक, जुम्ला : जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा विशाला आगलागी भएको छ । उक्त आगलागीमा २५ घर जलेर नष्ट भएका छन् । आगलागी भएको गाउँ खलंगा बजार देखि ३५ किलोमिटर पश्चिममा रहेको छ ।
आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
गाउँका घरहरु जलेर नष्ट भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।
गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको हो । आगलागीबाट अन्नबाली र चौपायाको भने क्षति भएको छ । क्षतिको तथ्यांक संकलन थालिएको छ भने क्षतिको यकिन विवरण अझै आइसकेको छैन ।
गाउँमा पैदल हिँडेर जानुपर्ने भएकाले जनशक्ति अभावमा आगो नियन्त्रणमा लिन सकिएको थिएन । लामो समयको प्रयास पछि प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिइएको छ ।