ई–आर्थिक, काठमाडौं । नेपालको पूँजीबजारको विकास र बिस्तारका विभिन्न चरणहरु चलिरहेका छन् । यसै क्रममा मिति २०७७ साल माघ ११ गतेको कारोबारबाट लागू हुने गरी राफसाफ चक्र हाल कायम रहेको टी३ लाई घटाएर टी२ कायम गरेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पूँजीबजार सम्बद्ध पक्षलाई सुचनामार्फत जानकारी गराइसकेको छ ।
हाल दोस्रो बजारमा उपलब्ध कारोबार तथा राफसाफसंग सम्बन्धित पूर्वाधारहरु पूर्ण र स्वचालित भई नसकेको अवस्थामा कारोबार गर्दा टी३ राफसाफ चक्रमा नै धितोपत्र दलाल व्यवसायीले ठूलो आर्थिक जोखिम मोलिरहेको अवस्था थियो । टी२ राफसाफ चक्रमा जाँदा यस्तो जोखिम गुणात्मक रुपमा वृद्धि हुने पक्का छ । तर पनि बजारको विकास र विस्तारको सधैं आशा गरिरहने हामी व्यवसायी यस्तो जोखिमको व्यवस्थापनको लागी आवश्यक पर्ने ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना, अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ्ग एण्ड बोरिङ्ग मार्केटको संचालन, पावर अफ एर्टनि, अटो ईडीआईएसको व्यवस्था सम्बन्धित निकायले चाडै नै गर्न सकोस भन्ने अनुरोध गर्दै यस्तो जोखिम लिएर भएपनि अझ बढि बजारको स्वच्छ संचालनको लागि हामी व्यवसायी तप्पर रहेका छन् ।
टी२ राफसाफ चक्रको सफल कार्यान्वयनका लागी राफसाफसंग सम्बन्धित सबै पक्षहरुले अआफ्नो जिम्मेवारी समयमै निर्वाहा गनुपर्ने अत्यन्त जरुरी हुन्छ । राफसाफ प्रक्रियाको सुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा टी२ राफसाफ चक्रको सफल कार्यान्वयनका लागी लगानीकर्ताहरु अझ बढि जिम्मेवार भईदिन र निम्न उल्लेखित आफ्नो दायित्व समयमानै पुरा गर्न जानकारी दिने उद्देश्यले स्टक ब्रोकर्स एशोसिएसन् अफ नेपालले एक विज्ञप्ति जारी गरेको छ ।
धितोपत्रको बिक्रि गरिसकेपछि लगानी कर्ताहरुले आफुले बिक्रि गरेको धितोपत्रको भारित औसत लागत गणना गर्ने र विक्री गरेको धितोपत्र कारोवार भएको दिन बाहेक थप एक कार्यदिन टी१ को कार्यालय समय भित्र डीआईएस प्रयोग गर्ने भए सम्वन्धित निक्षेप सदस्य डीपीलाई भौतिक डिआईएस हस्तातरण गरी सम्बन्धित दलाल व्यवसायीलाई भारित औसत लागत घोषणा फारम भरी बुझाउने वा मेरो शेयरको प्रयोग गरी ईडीआईएस मार्फत सम्बधित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्त्रण गर्नु पर्नेछ ।
कुनै कारणबस विक्रि गरेको धितोपत्र टी२ को १२ बजे भित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्त्रण नभएमा धितोपत्र संख्याको बिक्री रकमको २० प्रतिशत रकम कोलोज आउटमा जाने र सो बराबरको बिक्री रकमको २० प्रतिशत रकम जरिवाना स्वरुप सम्बन्धित बिक्री गर्ने लगानिकर्ताको खाताबाट कट्टि भई खरिद गर्ने लगानीकर्ताको खरिद हिसाबमा जम्मा हुने कानूनी व्यबस्था रहेको छ ।
बाँकी कारोबार राफसाफ पश्चात यथासिघ्र विक्री रकम लगानीकर्ताको खातामा जम्मा गर्ने दायित्व व्यवसायीको हुनेछ ।
त्यसैगरी धितोपत्रको खरिद कारोबार गर्ने लगानीकर्ताले आफुले खरिद गर्ने कुल अनुमानित रकमको धितोपत्र व्यवसायीले तोकेको प्रतिशतले हुन आउने रकम खरिद आदेश राख्नुपूर्ब नै विद्मुतिय माध्यमबाट अग्रिम रुपमा भुक्तानि गर्नु पर्ने छ ।
कारोवार भए पश्चात बाँकी रहेको रकम टी१ भित्र अनिवार्य रुपमा विद्युतिय माध्यमबाट भुक्तानी गनुपर्ने छ । साथै समयमा खरिद रकम भुक्तानी नगरेमा खरीद गरेको धितोपत्र नेप्से तथा सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडलाई जानकारी गराई विक्री गरी व्यवसायीले आफ्नो रकम असुल उपर गर्न सक्ने तथा सो समय अवधी भित्र व्यवसायीले बहन गर्नु पर्ने थप लागत पनि सम्बन्धित लगानीकर्ता बाट असुल उपर गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । खरिद कारोबार राफसाफ पश्चात खरिद रकमको भुक्तानी भएपछि यथासिघ्र खरिद गरिएको धितोपत्र लगानीकर्ताको खातामा जम्मा गर्ने व्यवसायीको दायित्व हो ।
समयमा नै आफ्नो दायित्व पुरा गरी टी२ राफसाफ चक्रको सफल कार्यान्वयनमा सहयोग गरिदिनुहुन सम्पूर्ण लगानीकर्ताहरुमा एशोसिएसनले विनम्र अनुरोध गरेको छ ।
टी२ राफसाफ चक्रको सफल कार्यान्वयनले हाम्रो बजार अन्तराष्ट्रियस्तरको यात्रामा थप अघि बढ्ने धितोपत्र बजारमा थप तरलता वृद्धि हुने, बजारको उतार चढाबबाट लगानीकर्ताले थप लाभ लिन सक्ने र सबैमा थप उत्साह र उर्जा मिल्ने छ भन्ने एशोसिएसनले आशा लिएको महासचिव गुणानिधि भुसालले एक विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।