काठमाडौँ : प्राथमिक सेयर जारी गरेर दोस्रो बजारमा सूचीकृत हुन चाहने कम्पनीले अंकित मूल्य १ सय रुपैयाँभन्दा बढीमा निष्कासन गर्न पाउने व्यवस्था (बुक बिल्डिङ) का लागि धितोपत्र बोर्डले संस्थागत लगानीकर्ता छानेको छ । बोर्डमा प्राप्त आवेदनमध्ये योग्यता पुगेका ४६ संस्थालाई अनुमति दिइएको बोर्डले जनाएको छ । संस्थागत लगानीकर्ताका लागि ६२ संस्थाले आवेदन दिएका थिए ।
संस्थागत लगानीकर्ता छनोटसँगै बुक बिल्डिङ विधिमार्फत सेयरको मूल्य निर्धारण प्रक्रिया सुरु भएको धितोपत्र बोर्डले जनाएको छ । यो व्यवस्थाले धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेशलाई प्रोत्साहित गर्ने बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको दाबी छ ।
‘वास्तविक क्षेत्रका केही कम्पनीले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन गर्ने तयारीसमेत गरिरहेका छन्,’ उनले भने, ‘अब ती कम्पनीलाई सेयर जारी गर्न बाटो खुल्छ ।’ आवेदन प्राप्त भएका संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिकाबमोजिमका कागजात तथा विवरण पेस गरेका ४६ संस्थालाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न बोर्डले स्वीकृति प्रदान गरेको उनले बताए ।
स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायतका विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गरी प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्ने बोर्डको दाबी छ ।
बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो । सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा धितोपत्रको सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ता (बुक रनर) ले लगानीकर्ताबाट धितोपत्रको माग सिर्जना गर्ने, संकलन गर्ने र अभिलेख गर्ने व्यवस्थित प्रक्रिया हो । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गरिन्छ ।
सम्भाव्य लगानीकर्ता, जस्तै वित्तीय संस्था, संस्थागत लगानीकर्ता, उच्च नेटवर्थ भएका व्यक्ति आदिबाट कुनै कम्पनीले निष्कासन गर्न लागेको धितोपत्रको खरिद गर्न चाहेको संख्या र तिर्न चाहेको मूल्य माग गरी सोको अभिलेख किताब निर्माण गर्छ । बुक बिल्डिङ पद्धतिमा बुक भन्नाले सम्भाव्य लगानीकर्ताबाट प्राप्त माग तथा मूल्यको संग्रह हो । जुन बिक्री प्रन्धक वा प्रत्याभूतिकर्ताबीच गोप्य रहन्छ । विश्वका विकसित पुँजी बजारमा धेरै समयदेखि प्रयोगमा छ । छिमेकी मुलुक भारत, बंगलादेशलगायतको पुँजीबजारमा समेत यस पद्धतिको सुरुवात भइसकेको समाचार आजको कान्तिपुरमा छ ।