ई–आर्थिक, काठमाडौं । ई–आर्थिक डट कममा सम्प्रेषण भएको समाचार सामग्रीको विषयलाई लिएर तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले खण्डन पठाएका छन् । ई–आर्थिक डट कममा भनिएझै आफूले भारतलाई कुनै पनि सूचना नचुहाएको दाबी गरेका उनले खण्डनमार्फत गरेका छन् ।
‘जिम्मेवार अहोदामा रहेका व्यक्तिलाई जवर्जस्ती विवादस्पद पात्रको रुपमा चित्रण गर्ने लहडी नियतले यो समाचार प्रकाशन भएको हाम्रो ठहर छ ।’ तत्कालिन मन्त्री यादवका तर्फबाट स्वकीय सचिव मनोज कुमार कुशवाहद्वारा हस्ताक्षरित खण्डनमा भनिएको छ– ‘समाचारमा प्रयोग भएको भाषाशैली र मिथ्याभियोगको संवेदनशीलतालाई दृष्टिगत गर्दा समाचार प्रकाशन गर्ने गराउने पृष्ठभूमिमा गहिरो निराशा, कुन्ठा र प्रतिशोध रहेको प्रष्ट देखिन्छ ।’
जनतालाई सुसुचित गराउने मिडिया नै कपोलकल्पीत समाचार बनाई सार्वजानिक पदमा बहाल रहेका पदाधिकारीको चरित्र हत्या हुने षड्यन्त्रबाट निर्देशित हुनु दुर्भाग्यपूर्ण रहेको पनि खण्डनमा भनिएको छ ।
ई–आर्थिक डट कमले २०७७/०५/१३ गते रामेश्वर राय यादब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेकै समयमा ‘श्रममन्त्री माथि भारतलाई सूचना चहाएको आरोप, बर्खास्तको तयारी !’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो । नेकपाको उच्च, विश्वासिलो र भरपर्दो स्रोतबाट आएको उक्त समाचार सामग्रीलाई विभिन्न प्रतिष्ठत मिडिया र युट्युवहरु समेतले साभार गरेर प्रकाशन/प्रशारण गरेका थिए ।
सो समाचार सम्प्रेषण भएको लामो समयपछि मन्त्री यादबले स्वकीय सचिव मनोज कुमार कुशवाहले हस्ताक्षर गरेको उक्त खण्डनलाई निजी सचिवायलको तर्फबाट उपसचिव सुरेश राउतलाई प्रेस काउन्सिल नेपालमा पठाउन लगाएका थिए । तर उक्त समाचारको विषयमा तत्कालिन मन्त्री यादब र मन्त्रालयका तर्फबाट ई–आर्थिकको कार्यालयमा आधिकारिक र सिधै कुनै पनि खण्डन नआएको ई–आर्थिक डट कमकी सम्पादक तिर्सना गिरीले बताईन । ‘तत्कालिन मन्त्रीज्यू र मन्त्रालयबाट कुनै खण्डन नआई घुमाउरो बाटोबाट खण्डन आयो ।’ सम्पादक गिरीले आश्चर्य मान्दै भनिन्– ‘ई–आर्थिक डट कममा प्रकाशित कुनै पनि समाचार चित्त नबुझ्दा प्रतिक्रिया दिने र खण्डन पठाउने सरोकारबालाको अधिकार सिधै सदुपयोग भएनछ ।’ कुनै पनि समाचारको विषयमा खण्डन र प्रतिक्रिया प्रकाशन गर्ने विषय ई–आर्थिक उदार रहेको पनि उनले प्रष्ट पारिन ।
खण्डन मिडियामा सिधै नपठाई यस बिषयमा छलफल गर्न भने आफू मन्त्रीमा बहाल रहेकै अवस्थामा यादब प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेका थिए । तत्कालिन मन्त्री यादबले यस बिषयमा प्रेस काउन्सिल नेपालका पदाधिकारीहरुसँग छलफल समेत गरेको समाचार स्रोतले जानकारी दिएको छ ।
उक्त खण्डनलाई प्रेस काउन्सिल नेपालले सिभिल मिडिया प्रा.लि.द्वारा सञ्चालित ई–आर्थिक डट कमको कार्यालयमा ७ दिन भित्र प्रकाशन गर्न भनेर पठाएको थियो । यही पुस १३ गते ई–आर्थिकको ईमेलमा प्राप्त उक्त खण्डन पत्रलाई जस्ताको तस्तै प्रकाशित गरेका छौं ।
खण्डनपत्र जस्ताको तस्तै
