ई–आर्थिक, काठमाडौं । उखु किसानको भुक्तानी नदिएको श्रीराम सुगर मिल्सले शुक्रबारदेखि नै भुक्तानी दिने भएको छ । एक विज्ञप्ती जारी गर्दै उक्त मिल्सले भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको जानकारी दिएको छ ।
उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने तर्फ उद्योग व्यवधानका कारण उद्योगको माग बमोजिम समस्या समाधान हुन नसकेको व्यहोरा हामी सबैमा अवगत भएको पनि विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ– ‘यस उद्योगको स्थापनाकालदेखि नै हाम्रा उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस हाम्रा उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति पूनः क्षमाप्रार्थि छौं ।’
यस उद्योगले भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको जानकारी दिएको छ । उक्त मिल्सका अनुसार आज शुक्रबारदेखि नै उखु किसानले आफ्नो वक्यौता रकम प्राप्त गर्नेछन् ।
श्रीराम सुगर मिल्सले भुक्तानी दिन सुरु गरेपनि अन्य उद्योगहरुले बक्यौता दिने सम्बन्धमा केही बोलेका छैनन् । भुक्तानी नपाएका किसानहरुले भने आफ्नो भुक्तानी नलिई घर नफर्कने भन्दै राजधानी केन्द्रित आन्दोलन गरिरहेका छन् ।