२०८३ भाद्र ३० मंगलबार

डीएपी मलको आपूर्ति निरन्तर, ३० हजार मेट्रिक टन युरिया ढुवानी अन्तिम चरणमा

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
1K
Shares
डीएपी मलको आपूर्ति निरन्तर, ३० हजार मेट्रिक टन युरिया ढुवानी अन्तिम चरणमा

काठमाडौं ।  सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने लक्ष्यअनुसार मल आपूर्तिलाई निरन्तरता दिएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५० मेट्रिक टन डीएपी मल बोकेको रेल विराटनगर भन्सार आइपुगेको छ।

मन्त्रालयका अनुसार थप १ हजार २५० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल र्याक बिहीबार बिहान रक्सौल आइपुग्नेछ। त्यसपछि कोलकाताबाट २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ।

यस्तै, ३० हजार मेट्रिक टन युरिया मलको ढुवानी प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ लाख मेट्रिक टन अनुदानित रासायनिक मल आपूर्ति गर्ने लक्ष्य राखेको छ। यसका लागि ३४ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ९१ हजार ३०० मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको छ। हालसम्म कुल ५ लाख ६१ हजार ४९३.८५ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिएको छ। यसमध्ये ३ लाख २७ हजार ५७९.८ मेट्रिक टन युरिया, २ लाख ३ हजार ४२६.३ मेट्रिक टन डीएपी र ३० हजार ४८७.७५ मेट्रिक टन पोटास रहेको मन्त्रालयले जनाएको छ।

सरकारी गोदाममा हाल ७४ हजार ४८.१ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ। मौज्दातमध्ये ३८ हजार १६७.०५ मेट्रिक टन युरिया, १७ हजार ८३६.९५ मेट्रिक टन डीएपी र १८ हजार ४४.१ मेट्रिक टन पोटास रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ३८ हजार ४३६.४ मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको छ। बिक्री भएको मलमध्ये ३ लाख १९ हजार १५५.८५ मेट्रिक टन युरिया, १ लाख ९९ हजार ५६०.०५ मेट्रिक टन डीएपी र १९ हजार ७२०.५ मेट्रिक टन पोटास रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने प्रतिबद्धताअनुसार खरिद, ढुवानी र वितरण प्रक्रियालाई निरन्तर अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij