ई–आर्थिक, काठमाडौं । गत पुसमा गरेको संझौता कार्यन्वयनको माग गर्दै उखु किसानले पुनः काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै उखु किसानले आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलन थालेका हुन । सरकार र उखु किसानबीच गत बर्षको पुस १६ गते संझौता भएको थियो ।
माइतिघर मण्डलाको आन्दोलनले निकास नदिए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुको चेतावनी दिएका छन् ।
सरकारले किसानसँग गरेको पटक–पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।
तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर उखु किसानले आफ्ना माग राखेको थिए । मन्त्रीले पैसा दिलाइदिने बाचा र प्रतिबद्धता जनाएपछि उखु किसान पैसा पाउनेमा आश्वस्त थिए । तर, किसानसँग भएको सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले भनाई छ ।
काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्तरगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका कार्यक्रम गर्ने तयारी किसानहरुले गरेका छन् ।
माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको उनीहरुले बताए ।
सर्लाहीका चार वटा चिनी मिलबाट उखु किसानले ५२ करोड भन्दा बढी रकम बक्यौता पाउन बाँकी छ ।
जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपैयाँ किसानलाई बुझाउन पर्ने बाँकी रहेको सरकारी तथ्यांक रहेको छ ।
उखु किसान पुनः आन्दोलित भएपनि सरकारी तबरबाट यस सम्बन्धमा कुनै पनि आधिकारिक धारणा आउन सकेको छैन । सरकारी स्रोतका अनुसार मन्त्रालयले उखु किसानको भुक्तानी दिने मिल मालिकहरुलाई खोजी गर्न थालेको बुझिएको छ ।