ई–आर्थिक, काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री श्वेता खड्काले आज सोमबार विवाह गर्ने भएकी छन् । उनले आफूले बिहे गर्न लागेको कुरा पुष्टि गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले जीवनको नविन यात्रा थालेको उल्लेख गरेकी छन् । यही मंसिर २२ गते उनले विजेन्द्रसिंह रावतसँग बिहे गर्ने भएकी हुन ।
अभिनेत्री खड्काको २०७१ साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । बिहे गरेको २ दिनमै विरामी परेका अभिनेता श्रेष्ठको भारतमा उपचारको क्रममा साउन २५ मा निधन भएको थियो ।
फेसबुकमा उनले यस्ता कुरा पोष्ट गरेकी छन
विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर, ब्यथा, दुःख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । ‘के म यसो गर्न सकुँला र ?’ आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।