ई–आर्थिक, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ वार्षिक साधारण सभा आज बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।
कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ ।
साधारणसभाको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले जुममार्फत गर्नेछन्। तर महासंघका पदाधिकारी र केही विशेष पाहुना प्रत्यक्ष सहभागी हुनेछन्। शुक्रबारको बन्दशत्र पनि भर्चुअल हुने भएको छ।
महासंघको नयाँ नेतृत्व चयनका लागि मंसिर १३ गते शनिबार मतदान हुनेछ । मतदानका लागि तीन स्थान तय गरिएको छ। उद्योग वाणिज्यतर्फको मतदाता प्रज्ञा प्रतिष्ठान, एसोसिएट्सतर्फको मतदान कार्की बैंक्वेट र वस्तुगततर्फको मतदान महासंघको सचिवालयमा हुनेछ ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा शनिबारबाट अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा हुनेछ। दुवै प्रतिष्पर्धीे प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा ढकालको प्यानलबाट गुणनिधी तिवारी र प्रधानको प्यानलबाट दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
बस्तुगत उपाध्यक्षमा ढकाल प्यानलबाट उमेशलाल श्रेष्ठ र प्रधान प्यानलबाट अञ्जन श्रेष्ठ प्रतिष्पर्धा गर्दै छन् । त्यस्तै एशोसिएट्स उपाध्यक्षमा ढकालबाट रामचन्द्र संघई र प्रधान प्यानलबाट सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।
एशोसिएट उपाध्यक्ष रोजगार परिषद्को पदेन सभापति हुने व्यवस्था छ। वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ पदका लागि १ सय २७ जना प्रतिष्पर्धामा छन् ।
महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्छन् ।
ढकाल प्यानलका दुई सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य सबै पदमा भने तीब्र प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ ।
निर्वाचन मिति मुखैमै रहेको समयमा सबै उम्मेद्वारहरु आफ्नो पक्षमा परिणाम ल्याउन तीब्र चुनाबी प्रचार प्रसार अभियानमा जुटेका छन् ।
बरिष्ठ उपाध्यक्षमा सहमति जुटाउने चौतर्फी प्रयास सफल भएन । शेखर गोल्छा पछिको भावी अध्यक्ष पदमा चुनाबी मैदानमा रहेका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल र प्रधानबीच तीब्र प्रतिस्पर्धा हुने अनुमान उद्योगी व्यवसायीले लगाएका छन् ।
महासंघको यो निर्वाचनलाई निजीक्षेत्र लगायत मुलुकभरमै विशेष महत्वका साथ हेरिन्छ ।