२०८३ साउन ९ शनिबार

नेपाल उद्योग बाणिज्य महासंघ निर्वाचन : ढकाल प्यानलबाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र सन्दिप अग्रवाल निर्विरोध निर्वाचित

ई आर्थिक    बिहिबार, मंसिर ४ २०७७
16.1K
Shares
नेपाल उद्योग बाणिज्य महासंघ निर्वाचन : ढकाल प्यानलबाट केन्द्रीय सदस्यमा राजेन्द्र राउत र सन्दिप अग्रवाल निर्विरोध निर्वाचित

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा चन्द्रप्रसाद ढकाल समूहका दुई उम्मेदवारहरु सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

मुलुकका सातै प्रदेशका लागि एक–एक वटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । प्रदेश एकबाट उक्त पदमा राउतकै मात्र उम्मेद्वारी परे पछि उनी सर्वसम्मत चयन भएका हुन् । देशकै प्रतिष्ठित उद्योगीको रुपमा स्थापित राउत महासंघको प्रदेश एक कमिटीका उपाध्यक्षसमेत हुन् ।

केन्द्रीय सदस्यमा निर्वाचित राउतलाई महासंघका पूर्वअध्यक्ष चण्डि ढकाल, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकाल लगायतले बधाई दिएका थिए ।

त्यसैगरी द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पर्नुपर्ने एकजनाको मात्रै उम्मेदवारीमा अग्रवालको मात्रै उम्मेद्वारी परेको थियो ।
जस अनुसार अग्रवाल चयन भएको महासंघ निर्वाचन समितिले जानकारी दिएको छ । अग्रवाल नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुन् ।

उनीहरु सर्वसम्मत चयन भइसके पनि औपचारिकरुपमा विजयी घोषणा भने भैसकेको छैन । महासंघको अन्य पदमा दुई प्यानल बिचका उम्मेद्वारहरुबीच चुनाव हुनेछ ।

अहिले दुबै प्यानलका उम्मेद्वार आफ्नो पक्षमा परिणाम ल्याउन तीब्र चुनावी प्रचार प्रसार अभियानमा होमिएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ । तर बाँकी पदहरुमा निर्वाचन हुँदैछ ।

आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।
महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् । त्यसैगरी एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योतिबीच प्रतिस्पर्धा हुने भएको छ भने जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी चुनाबी मैदानमा उत्रिएका छन् । कोरोना भाइरस संक्रमण बीच उनीहरु सबैले आफ्नो चुनावी प्रचारलाई तीब्र पारेका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गएको चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो । पछिल्लो पटक निर्वाचनसहितको साधारणसभामा नयाँ मिति तय गरी महासंघले निर्वाचनको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij