सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि. ले ११ औँ वार्षिक साधारणसभा भर्चुअल विधिबाट सम्पन्न गरेको छ
होटल, पार्टी प्यालेस अथवा सभा हलमा साधारणसभा गर्नु नपर्दा कोरोनाले थलिएको सहकारीलाई ठूलो रकम बचत हुने देखिन्छ
ई–आर्थिक, काठमाडौं । कोरोनाका कारण सहकारी संस्थाका साधारणसभा प्रभावित बनेका छन् । तथापी देशभरका सहकारीले अहिले धमाधम आफ्नो साधारणसभा सम्पन्न गरिरहेका छन् । तर अहिले गर्ने गरेका सहकारीका साधारणसभा भने अघिल्लो बर्षको जस्तो छैन । विगतमा होटल, पार्टी प्यालेस, सभा हल, खुला चौरमा हुने सहकारीका साधारणसभा यसपटक भने कार्यालयमै भर्चुअल विधि अपनाएर गरिरहेका छन् । यसरी गरिने सहकारीको साधारणसभा प्रभावकारी नहुने सहकारीविद्हरुले बताएका छन् ।
‘संस्थाको विगतको प्रगति समिक्षा, बर्तमान अवस्था र भविष्यमा गरिने कार्यक्रम पारित गर्ने सहकारीको साधारणसभा महत्वपूर्ण अवसर हो’ सहकारी क्षेत्रका एक जानकार भन्छन्– ‘तर कोभिडका कारण उनीहरु यो महत्वपूर्ण अवसर र अधिकारबाट बञ्चित भइरहेका छन् ।’ यसरी गरिने साधारणसभा औपचारिकता पूरा गर्ने मात्र भइरहेको उनी बताउँछन् । साधारणसभामा उपस्थित भएर छलफलमा सहभागी हुन नपाउँदा आफ्नो संस्थाको बास्तविक अवस्था वारे लाखौं सदस्यहरु बेखबर भइरहेको उनको भनाई छ ।
खुल्ला चौरमा समेत साधारणसभा गर्दा राजनीतिक दलको जुलुस जस्तै हुने संख्या सहकारी संस्थाका सदस्य रहेका छन् । काभ्रेको खोपासीमा मूख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारीको मात्रै ४५ हजार भन्दा बढी सदस्य रहेका छन् । त्यस्ता संस्थाका साधारणसभा सामाजिक दुरी कायम गरेर गर्न सकिने अवस्था छैन् । विन्धवासिनी सहकारी एउटा यस्तो ठूलो सदस्य संख्या भएको प्रतिनिधि संस्था मात्र हो । देशभरमा १० हजार भन्दा बढी सदस्य भएका संस्थाको संख्या हजारौं छन् । थोरै सदस्य भएको संस्थामा पनि ७०० भन्दा बढी त सदस्य रहेकै हुन्छन् ।
अहिले सहकारीले सदस्यलाई पत्रपत्रिकामा सूचना, सामाजिक सञ्जाल तथा फोन प्रयोग गरेर कार्यालयमा रहेको साधारणसभाको उपस्थिति पुस्तिकामा हाजिर गर्न भनिरहेको भेटिन्छ । त्यसका लागि अधिकांश संस्थाले हप्ता दिनसम्ममा आई उपस्थिति पुस्तिकामा हाजिर गर्न भनेका छन् । संस्थाको नजिक हुने सदस्यले भने संस्थासम्म पुगेर साधारणसभाको उपस्थिति पुस्तिकामा आफ्नो उपस्थिति जनाएर बार्षिक प्रतिवेदन बोकेर हिड्ने गरेका छन् । साधारणसभाको उपस्थिति जनाएका सदस्यहरुले संस्थाका पदाधिकारीसँग दोहोरो संवाद समेत गरेको पाइदैन ।
यति ठूलो सदस्य संख्या रहेको जुम, फेसबुकलगायत भर्चुअल विधिद्वारा गरिने अहिलेको साधारणसभामा १० प्रतिशत पनि सदस्यको उपस्थिति तथा पहुँच नभइरहेको अनुमान लगाइएको छ । यसरी हेर्दा ठूलो संख्यामा सदस्यहरुले आफ्नो संस्थाको महत्वपूर्ण सभाको छलफलमा सहभागी हुने अवसरबाट बञ्चित भएका छन् । त्यसैगरी उनीहरुले आफ्नो संस्थाको बास्तविक अवस्था वारेमा समेत बेखबर भएका छन् ।
होटल, पार्टी प्यालेस र खुला चौरमा हुने गरेका साधारणसभामा प्रत्येक संस्थाको लाखौं रुपैयाँ खर्च हुने गरेको थियो । अहिले साधारणसभा सामान्य ढंगले कार्यालयमै भइरहेपछि यसबाट सहकारीको ठूलो रकम खर्च हुन बाट जोगिएको छ । यसले संस्थालाई केही मात्र भएपनि राहत हुने अनुमान लगाइएको छ ।