ई-आर्थिक, काठमाडौं। सोमबार नेपालमा कोरोना भाइरसका ३७ सय ९० जना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमित संख्या एक लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ४० हजार ७७८ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ सय ८८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा दुई हजार आठ, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।