चोरहरूले एक कलासङ्कलकको घरबाट उक्त बहुमूल्य सामग्री चोरेका थिए । त्यसपछि उनीहरूले त्यसलाई निकै सस्तो मूल्यमा बेचिदिए। परम्परागत कलिग्रफी अर्थात् चिनियाँ कलात्मक हस्तलिपियुक्त उक्त पाण्डुलिपि २.८ मिटर लामो थियो । तर देखाउन लामो हुने भएकाले सम्भवतः त्यसलाई काटेर टुक्रा पारिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
उक्त सामग्रीका मालिकका अनुसार काटिएकाले त्यसको “कला” को मूल्य प्रभावित भएको छ।
के हो यसको विशेषता ?
उक्त पाण्डुलिपिमा चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता माओले कविताका पङ्क्तिहरू लेखेका छन् ।

उक्त सामग्रीको बजार मूल्य झन्डै ३० करोड अमेरिकी डलर अनुमान गरिएको छ । गत सेप्टेम्बरमा तीन जनाको एउटा समूहले ख्यातिप्राप्त कलासङ्कलक फु चुनशिआओको घरबाट उक्त कृति चोरेको हो । उनीहरूले प्राचीन छाप, तामाका सिक्का र माओसँग सम्बन्धित अन्य सामग्री पनि लगेका थिए ।
चोरिएका सबै सामानको मूल्य ६४.५ करोड अमेरिकी डलर भएको फुको दाबी छ। उक्त घटना हुँदा फु चीनमा थिए ।
चोरेपछि के भयो ?
चोरहरूले एउटा टुक्रा अर्का स्थानीय सङ्कलकमार्फत् एक ग्राहकलाई केवल ६४ अमेरिकी डलरजतिमा बेचेका थिए। ती ग्राहकले त्यो सामग्री नक्कली भएको भन्ठानेको द साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।
प्रहरीले प्रकाशित गरेको एउटा अपील देखेपछि आफूले किनेका दुवै टुक्रासहित उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । तर कसले त्यो कलात्मक सामग्रीलाई काटेको हो भन्ने स्पष्ट भएको छैन ।
हङ्कङ प्रहरीका वरिष्ठ अधिकारी टोनी होले भने, “कसैलाई उक्त कलिग्रफी लामो छ …अनि देखाउन अप्ठ्यारो हुन्छ भन्ने लाग्यो। त्यसैलाई त्यसलाई दुई टुक्रा पारिएछ ।”
फुले आफूसँग भएको कलात्मक र ऐतिहासिक सामग्री त्यसरी बिगारिएको देख्दा चित्त दुखेको बताए । प्रहरीले त्यो सामग्री किन्ने ४९ वर्षीय व्यक्तिलाई चोरीको सामान किनेको आशङ्कामा पक्राउ गरेको थियो । तर पछि उनी धरौटीमा छुटे । प्रहरीले एक सन्दिग्ध चोरलाई पनि समातेको छ । तर अरू दुई जना अझै फरार छन् ।
बीबीसीबाट