ई–आर्थिक, काठमाडौं । प्रचण्डलाई आगामी चैत्रमा हुने भनिएको महाधिबेशनबाट एकल अध्यक्ष बनाउने गरी अहिलेलाई कार्यकारी अध्यक्ष दिएर पार्टीभित्रको अन्तरबिरोध किनारा लगाउन सफल सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्नो ‘कोर गुट’ का प्रभाबशाली नेताहरुलाई शक्तिमा ल्याउन ध्यान केन्द्रित गर्न थालेका छन् ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रस्ताबमा उक्त प्रदेशको राजधानी दाङको भालुवाङमा लैजाने सहमति गरेर र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको प्रस्ताबमा शंकर बैरागीलाई मुख्य सचिब बनाएर ओलीले आफ्नो गुटका प्रभाबशाली नेताहरुलाई शक्तिशाली बनाएका छन् । यसलाई सत्तारुढ दलभित्र निकै नै अर्थपूर्णढंगबाट हेरिएको छ । कतै प्रचण्डको काउन्टरमा ओलीले शंकरलाई ग्रुमिङ गर्न थालेका त हैनन् भन्ने चर्चा सुरु भएको छ । ‘यो योजनाबद्ध छ । अब ओली आफ्नो कोर समूहलाई पार्टीको नेत्तृत्वमा लैजाने रणनीतिमा अघि बढे भनेर बुझ्दा हुन्छ ।’
एक स्थायी समितिका सदस्यले भने ‘ओलीले पहिलो पुस्ताले बिश्राम लिएर दोस्रो पुस्तामा नेत्तृत्व हस्तान्तरण गर्ने प्रस्ताब ल्याएर आफ्नो समूहबाट शंकरलाई अघि बढाउने देखिन्छ ।’ ती नेताका अनुसार राजधानीको मुद्धाले शंकरलाई कमजोर बनाएको थियो । यसबारेमा ओली जानकार नै थिए । त्यसैले शंकरलाई बलियो बनाउने गरी ओलीले भालुवाङमा प्रदेश राजधानी लैजानेबारे प्रचण्डलाई सहमत गराएको उनको दाबी छ ।
ओलीको चालबाजी प्रचण्डले नबुझी सहमति गरेको उनले बताए । निर्बाचनका क्रममा प्रदेश ५ को राजधानी दाङमा लैजाने प्रतिबद्धता जनाएका पोखरेलको योजना पार्टीभित्रका पूर्बमाओबादी समूह र अर्का प्रभाबशाली नेता बिष्णु पौडेलका कारण अहिलेसम्म तुहिएको थियो । मुख्यमन्त्री हुनेबित्तिकै प्रदेश राजधानी दाङ लैजान पोखरेलले पहलकदमी लिएका थिए । तर पौडेलले माओबादी र काँगे्रस नेताहरुको समर्थन जुटाएर बुटबलमा नै प्रदेशको अस्थायी राजधानी बनाएका थिए । यस घटनाले पोखरेलको राजनीतिक कद पौडेलको तुलनामा लिलिपुट बनाएको थियो ।
बिष्णु पौडेल जसरी हुन्छ शंकर पोखरेललाई साइजमै राख्न चाहन्छन् । पौडेल आफू ओलीको उत्तराधिकारी बन्ने प्रयासमा छन् । उनको यो चाहनामा शंकर पोखरेल नै सबभन्दा ठूलो बाधकका रुपमा देखिएका छन् । पौडेललाई खगराज अधिकारी, महेश बस्नेत, निरुदेबी पाललगायत ओलीको सानो समूहको मात्र समर्थन छ ।
ओली समूहको ९० प्रतिशतभन्दा बढी समर्थन शंकर पोखरेललाई नै छ । यही कुरालाई ध्यानमा राखेर पौडेलले शंकरलाई साइजमा ल्याउन राजधानीको कार्ड उपयोग गरिरहेका थिए । मुख्यमन्त्री र ओलीको भित्रिया हुदासमेत राजधानी आफूले भनेको स्थानमा ल्याउन नसक्नेले राजनीतिमा के गरिखान्छन् भनेर देशभर पोखरेलको आलोचना हुने गरेको थियो । यसले पोखरेलाई निकै नै रक्षात्मक बनाएको थियो । पोखरेल र ज्ञवाली अध्यक्ष ओलीका दायाँ र बायाँ हातका रुपमा काम गर्ने नेता हुन ।
ओलीको अनुपस्थितिमा पोखरेल र ज्ञवालीले गुटको नेत्तृत्व गर्ने गर्छन । एक बर्षअघि ओली समूहको पनि कोर समूहको भेलाले ओलीपछि शंकरलाई दोस्रो र ज्ञवालीलाई तेस्रो बरियताका नेताका रुपमा मान्यता प्रदान गरेको थियो । ओलीको निर्देशनमा मदन भण्डारी फाउण्डेशनको कार्यालयमा भएको सो भेला ओलीपछि उक्त समूहको नेत्तृत्व कसले सम्हाल्छ भन्ने सन्देश दिन आयोजना गरिएको थियो । अहिले उक्त गुट यही मार्गनिर्देशका आधारमा सन्चालन भइरहेको छ । पार्टीभित्रको बिबाद मिलाउन गठन गरिएको ६ सदस्यीय कार्यदलमा पनि ओलीले शंकरलाई राखेका थिए । जब कि ओली समूहमा बरिष्ठ सदस्यहरु सुबास नेम्वाङ र ईश्वर पोखरेल पनि थिए ।
पार्टीभित्रको बिबाद मिलाएको हुदा उक्त कार्यदल र यसका सदस्यहरुप्रति देशभर वाहबाही छ । यसले शंकर पोखरेललाई पनि ओलीपछिको गुटका नेताको रुपमा परिचित गराएको छ । त्यसैगरी सार्बजनिक प्रशासनको नेत्तृत्व गर्ने मुख्य सचिबमा प्रदिप ज्ञवालीको प्रस्ताबमा ओलीले शंकरदास वैरागी नियुक्त गरिदिएका छन् । अब प्रशासन तीन बर्षसम्म बैरागीको नेत्तृत्वमा सन्चालन हुने छ । यसले मुलुकको समग्र प्रशासन संयन्त्रमा पनि अब ओली समूहको बलियो प्रभाब रहने छ । त्यसमा पनि राज्यको ब्युरोक्रेसीमा ज्ञवालीको पकड हुने छ ।
प्रशासन संयन्त्रलाई कुशलतापूर्बक उपयोग गर्न सके त्यसको सोझो प्रभाब राजनीति र समाजमा पर्ने गर्छ । यसबाट ज्ञवाली पनि निकै मुलुकमा शक्तिशाली नेताका रुपमा देखा पर्नेछन् । अहिलेसम्मको परम्परालाई तोड्दै परराष्ट्र सेवाबाट मुख्य सचिब बनाइएकाले बैरागीले ज्ञवालीकै निर्देशनमा प्रशासन सन्चालन गर्ने प्रष्ट संकेत देखा परिसकेको छ । यि घटनाक्रमले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूपछि पोखरेल र ज्ञवालीलाई गुटको उत्तराधिकारी बनाउने संकेत गरेको छ ।