हिमालय एयरलाइन्स सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा प्रकरण
ई–आर्थिक, काठमाडौं । हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा रोकिएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले दिएको उक्त सुविधालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रोकेको हुन ।
मन्त्री भट्टराईले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिंदै यो सुविधा लिएका अन्य एयरलाइन्सलाई समेत अध्ययन गर्न भनेका समाचार स्रोतले उल्लेख गरेको छ ।
मन्त्री भट्टराईले प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित प्राधिकरणको टोलीलाई मन्त्रालयमा बोलाएर ग्राउण्ड ह्याण्डलिङको सुविधाको बारेमा छलफल गरेका थिए । छलफल पछि तत्काल कार्यन्वयनमा नल्याउन प्राधिकरणलाई निर्देशन दिएका थिए ।
ग्राउण्ड ह्याण्डलिङ सुविधाका लागि एयरलाइन्ससँग आर्थिक तथा प्राविधिक क्षमता भए–नभएको अध्ययन गर्न समेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।
विवादास्पद यो निर्णय त्यत्तिकै पनि राष्ट्रहित विपरित छ । अर्को हिमालयलाई दिएको यो सुविधाले नेपाल बायुसेवा निगमलाई बार्षिक अर्बौं रुपैयाँ घाटा हुदै थियो ।
हिमालय एयरलाइन्सलाई ‘पोस्ने’ गरी यो सुविधा दिइएको भन्दै यो निर्णयको चर्को आलोचना हुदै थियो । पर्यटनसँग सम्बन्धित अन्य छाता संस्थासमेतको आबद्धतामा नेपाल बायुसेवा निगम कर्मचारीका छाता संस्थाहरुले समेत यसको विरुद्धमा चर्को आन्दोलनको तयारी गरिरहेका थिए ।
नेपाल बायुसेवा निगमको आम्दानीलाई खोसेर हिमालय एयरलाइन्सलाई दिइएको यो सुविधालाई कर्मचारीहरुले ‘गाई मारेर गधा पोस्ने’ काम भएको बताएका थिए ।
कर्मचारी समेतको आलोचना हुन थालेपछि मन्त्री भट्टराईले प्राधिकरणको टिमलाई बोलाएर निर्णय तत्काल कार्यन्वयन नगर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । राष्ट्रिय महत्वको विषयमा निर्णय गर्दा मन्त्रालयसँग सल्लाह लिन समेत कर्मचारीहरुलाई भनेका थिए । अहिले त्रिभुवन विमानस्थलमा ग्राउण्ड ह्याण्डिलिङ सेवा नेपाल एयरलाइन्सले गरिरहेको छ । कर्मचारीहरुले भने नियमसंगत नै उक्त सुविधा प्रदान गरिएको मन्त्री भट्टराईलाई जानकारी दिएका थिए ।
प्राधिकरणले यसअघि थाई एयर र एयर इण्डियाले यस्तो सुविधा दिलाएको थियो । हिमालय एयरलाइन्सलाई पनि सोही प्रावधानमा टेकेर सुविधा दिएको प्राधिकरणले जानकारी दिएको थियो । तर उसँग ग्राउण्ड हृयाण्डिलिङ संचालनका लागि आवश्यक उपकरण, जनशक्ति तथा अन्य क्षमता नभएको नेपाल बायुसेवा निगमका कर्मचारीले दाबी गरेका छ ।
मन्त्री भट्टराईले मापदण्ड नपुग्ने कम्पनीको सुविधा खोस्न, विगतमा सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा लिइसकेका कम्पनीको समेत मापदण्ड अध्ययन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईको निर्देशानुसार मापदण्ड पुरा नगरेको पाइए एयर इण्डिया र थाई एयर समेतको समेत सुविधा खोसेर नेपाल एयरलाइन्सलाई प्रदान गरिने छ ।