ई–आर्थिक, चितवन । चितवनको नारायणी नदीमा आएको विशाल बाढी मानव बस्तीमा पसेर वितण्डा मच्चाएको छ । तीन दिनदेखि निरन्तर परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । नदीले खतराको तह पार गरेपछि स्थानीयहरु त्रासित थिए ।
त्यसैगरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मेघौली क्षेत्र, वडा नं. १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरिएको छ ।
जिल्ला भएर बग्ने नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा अहिले पानीको बहाब बढेर अहिले ठूलो बाढी आएको छ । हालसम्म कुनै मानवीय क्षति भएका खबर प्राप्त भएको छैन । तर सयौं घर डुबानमा पर्नुका साथै ठूलो रकमको धनमाल बाढीले नष्ट गरेको छ ।
त्यस्तै राप्ती नदीमा आएको बाढीले पर्यटकीय क्षेत्र सौराहा समेतलाई डुबानमा पारेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको हुन ।
पर्यटक नआउँदा चिन्तित बनेको सौराहाका होटल व्यवसायीले बाढीले थप चिन्ता बढाएको छ । स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गरिरहेको छ ।
लगातार पानी पर्ने मौसम पूर्वानुमान शाखाको चेतावनीसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन स्थानीय प्रशासन र स्थानीय निकायहरुले आग्रह गरेका छन् ।