ई–आर्थिक, काठमाडौं । भारतका चर्चित बलिउड अभिनेता अमिताभ बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बच्चनले आफ्नो आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई कोरोना पोजिटिभ भएको पुष्टि गरेका छन् ।
‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पोस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’
७७ वर्षिय बच्चन अहिले उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले लेखेका छन् ।
उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो ।
रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै आएका उनी भारतका सबैभन्दा चर्चित अभिनेताको रुपमा स्थापित छन् ।