काठमाडौँ, असार २३ गते । समाजवादी पार्टी नेपालले सरिता गिरीलाई कारबाही गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी र सांसद पदबाट हटाउने निर्णय गरेको छ ।
पार्टी महासचिव रामसहाय प्रसाद यादव संयोजक रहेको कार्यदलले उनलाई कारबाहीको सिफारिस गरेको थियो । पार्टीले त्यसलाई सदर गरेको छ ।
उनले लिम्यिाधुरासहितको नक्सा जारी गर्दा विरोध गरेकी थिइन् । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिईन ।
प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिएनन । उल्टै उनले संविधान संशोधनका लागि भएको चुनावमा समेत अनुपस्थिति देखाएकी थिईन ।
त्यसपछि पार्टीले उनलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएकी थिईन तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिश गरेको थिय।