ई-आर्थिक, काठमाडौं। सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण तथा रोकथामको निम्ति विभिन्न प्रयासहरू जारी गरेपनि त्यसको उल्लंघन हुँदा महामारी दिनदिनै बढ्दै गएको छ।
हिजो मत्रै गृहमन्त्रालयले मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ कारवाही गर्न परिपत्र जारी समेत गरिसकेको छ। तीन महिनादेखि सरकारले मास्क लगाउन, सामाजिक दुरी कायम गराउन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन बिज्ञापनवाट मात्रै नभइ मोवाइलमा रिङ व्याक ट्यून राख्दा समेत परिपालन नभएपछि ठाउँको ठाँउ कारवाही गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुुगमनमा निस्कएका छन् ।
सरकारले कारवाही गर्ने भन्दाभन्दै उलघंन गर्ने धेरै भएकाले कारवाहीको प्रकृया सुरु गरेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले भने,‘ हामीले बारम्बार अनुरोध गर्दा पनि धेरैले नमानेपछि बाध्य भएर कारवाही सुरु गरेका छौं, पहिलो चरणमा एक सय रुपियाँ जरिवाना गर्छाैै, त्यो भएन भने संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्छाै ।’
संक्रामक रोग ऐन २०२० ऐनले पहिलो पटक एक सय रुपियाँसम्म जरिवाना र एक महिनासम्म कैद र दोस्रो पटकसम्म सोही व्यक्तिले सरकारले निर्देशन पालना नगरे छ महिनासम्म कैद छ सय रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रमुुख जिल्ला अधिकारी दाहालले बताए ।
काठमाडौं उपत्यकामा आवातजावत गर्ने १५ देखि २० प्रतिशतले मास्कको प्रयोग नगरेको पाइएको र गृहमन्त्रालयवाट समेत परिपत्र भएसँगै कारवाहीको प्रकृया अघि बढाइएको उनले बताए ।
उनले पार्टीप्यालेस, ठूला मल र रेष्टुरेन्टहरुमा निगरानी बढाउन सादा पोशाकमा प्रहरी समेत परिचालन गरेको बताए । जोखिम अत्याधिक बढेकाले केही खुकुुलो जस्तो देखिएको लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने उनले बताए ।
गृहमन्त्रालयको परिपत्र लगत्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा संयन्त्रको बैठक बसेर कारवाहीको प्रकृया सुरु गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा निकायसँग समन्वय गरेर कारवाही प्रकृया अघि बढाएको बताए ।
उनले विश्व स्वास्थ्य संगठनले समेत राजधानी निक्कै जोखिम भएकाले जोखिम कम गर्ने प्रयास सुरु गरेको र अटेर गरेमा कारवाही गर्ने बताए । सपिङ मल र सार्वजनिक स्थानहरुमा ललिलपुरमा समेत सादा पोशाकका प्रहरी खटाइएको उनले बताए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंगलबार बिहानैदेखि मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गराउन माइकिङ गरेको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजदिनभरी माइकिङ गर्ने र भोलिवाट कारवाही तथा अनुुगमन गर्ने बताए ।