माग पुरा नभए सबै ट्याक्सी सिंहदरबार लगेर आन्दोलन चर्काउने चेतावनी
ई–आर्थिक, काठमाडौं । सडकमा ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै ट्याक्सी चालकहरुले आन्दोलन सुरु गरेका छन् । लामो समयदेखिको लकडाउनका कारण ट्याक्सी चलाउन नपाएपछि आफूहरु समस्यामा परेको भन्दै ट्याक्सी खुलाउन दबाव दिने उद्देश्यले उनीहरुले आन्दोलन सुरु गरेका हुन ।
आन्दोलनको नेतृत्व अखिल नेपाल यातायात मजदुर संघ उपत्यका विशेष समिति र उपत्याका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले लिएका छन् ।
सयौं ट्याक्सी सहित उनीहरु यातायात व्यवस्था विभागको अगाडी संगठित भएर बसेका छन् । यातायात व्यवस्था विभागले यसअघि असार १५ गते सम्म आफूहरुको माग सम्वोधन गर्ने आश्वासन दिएपनि हालसम्म कुनै पहल नगरेका कारण बाध्य भएर आन्दोलनमा होमिनु परेको अखिल नेपाल यातायत मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिका अध्यक्ष सूर्य तामाङले जानकारी दिए ।
‘हामीले यसअघि पनि यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाएका थियौं,’ उनले भने, ‘उहाँहरुले हामीलाई असार १५ गतेसम्मको समय दिनु भएको थियो । तर अहिलेसम्म हाम्रो माग र विभागको प्रतिबद्धतामा कुनै प्रगति नभएपछि हामीले फेरि उहाँहरुलाई झक्झक्याउन आन्दोलन थालेका हौं ।’
पछिल्लो समय सार्वजनिक यातायात बन्द भएपछि रातो नम्बर प्लेटले यात्रु बोक्ने गरेको भन्दै तामाङले ट्याक्सी चालकहरुले कोठाभाडा तिर्न नसकेर समस्यामा पर्दा सरकारले वास्ता नगरेको उल्लेख गरे । सरकारले अहिलेसम्म ट्याक्सी संचालन गर्न सक्ने वातावरण बनाएन, अब सबै ट्याक्सी सिंहदरबारभित्र लगेर धर्ना बस्ने उनले चेतावनी दिए ।

आन्दोलनकारीहरुले ‘ऋण थपियो सरकार, निन्द्रा लागेन, ‘घरधनीले कोठाभाडा माग्यो सरकार’, ‘बैंक तथा फाइनान्सहरुले गाडी खोस्ने अवस्था आयो सरकार’, ‘विभेदकारी नीति अन्त्य गर, स्वास्थ्य मापदण्ड बनाएर ट्याक्सी सेवा सञ्चालन गर’, ‘रोगले भन्दा भोकले मर्ने अवस्था आयो सरकार, गरी खान देऊ’, ‘आन्दोलन हाम्रो बाध्यता हो रहर हैन’, ‘अखिल नेपाल यातायात मजदुर संघ जिन्दावाद !’ जस्ता प्लेकार्ड बोकेर आन्दोलनमा होमिएका छन् ।