ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रले लय समातेको दावी गरेका छन् । नेपाल उद्योग परिसंघको सोमबार भएको १७ औं साधारणसभामा बोल्दै उनले सो दाबी गरेका हुन ।
सरकारले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्रले ८० प्रतिशत लय समातेको र भन्सार तथा आन्तरिक राजश्व र रेमिट्यान्स बढ्न थालेको जानकारी दिएका हुन् ।
कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने– ‘अर्थतन्त्रले विस्तारै लय समात्न थालेको छ ।’ आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको र त्यो पूरा हुने विश्वास पनि उनले सो कार्यक्रममा गरे ।
नेपालका ठूला उद्योगीहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा अर्थमन्त्रीले खतिवडाले उद्योगीसँग सरकारलाई साथ दिन आग्रह समेत गरे । ‘रिकभरीका लागि तपाईँहरु सरकारलाई साथ दिनुहोस्’ उनले भने ‘कोभिड १९ को समस्याबाट सर्भाइभका लागि सरकार साथ दिन्छ ।’ सरकारीले उद्योगीहरुलाई साथ दिने बताए पनि कुन–कुन कुरामा साथ दिने भन्ने बारेमा केही खुलाएनन् ।
उनले निजीक्षेत्रका लागि सरकारले ७० अर्बको प्याकेज ल्याएको बताए । अर्थमन्त्री खतिवडाले डेडिकेटर र ट्रक लाइनको व्यवस्था खारेजबाट नेपाल विद्युत प्राधिकरणलाई १३ अर्ब रुपैयाँ घाटा पर्ने उल्लेख गरे ।
अर्थमन्त्री खतिवडाले लकडाउन अवधिमा कामदारलाई ५० प्रतिशत तलव भुक्तानी दिन र उद्योगहरुमा नेपाली कामदार प्रयोग गर्न समेत आग्रह गरे । त्यस्तै उनले आगामी आर्थिक बर्षदेखि कर्जाको व्याज पनि एक अंकमा आउने दावी गर्दै निजी क्षेत्रले उठाएका हरेक मागको सम्बोधन मौद्रिक नीतिले गर्ने समेत आश्वासन दिए ।