२०८३ साउन ९ शनिबार

गुणस्तरहीन वस्तु उत्पादन गर्ने छ उद्योग कारवाहीमा, कुन-कुन परे ?

ई आर्थिक    शनिबार, असार १३ २०७७
9.4K
Shares
गुणस्तरहीन वस्तु उत्पादन गर्ने छ उद्योग कारवाहीमा, कुन-कुन परे ?

काठमाडौँ, असार १३ गते ।  नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो ।

विभागले शुक्रबार रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, एभरेष्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौँ, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारवाही गरेको हो ।

जसमा रिलायन्स सिमेन्ट र इन्टरनेशनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेष्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरेको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही गरिएको जानकारी दिनुभयो । विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगी गर्ने उद्योग पहिचान गर्न केही दिन पहिला देशभरका झण्डै १०० उद्योगबाट नमूना सङ्कलन लिएको थियो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij