ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । ५० बर्षिय ती संक्रमितको पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो । चितवन रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्दै आएका ५० वर्षका ती व्यक्तीमा असार ५ गते कोरोना पुष्टि भएको थियो ।
मिर्गौला सम्बन्धी रोगबाट पीडित उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानाकारी दिएको छ ।
संक्रमितको शव व्यवस्थापनमा अवरोधपछि पोखरामा गोली चल्यो
यसैबीच स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे कोरोना भाइरस संक्रमित पुरुषको शब व्यवस्थापन गर्ने शिलशिलामा पोखरामा झडप भएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बुधबार राति मृत्यु भएको ती संक्रमितको शब व्यवस्थापन गर्ने शिलशिलामा भएको झडपमा शसस्त्र प्रहरीले ८ राउण्ड गोली समेत चलाएको छ ।
पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए । शसस्त्रको गाडी तोडसमेत गरेपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ ।
स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोड हुँदा सशस्त्रको गाडीको सिसा समेत फुटेको थियो ।