२०८३ साउन ९ शनिबार

रसुवागढी नाका सञ्चालनमा आउने, चीनले दियो सहमति

ई आर्थिक    बिहिबार, असार ४ २०७७
9.7K
Shares
रसुवागढी नाका सञ्चालनमा आउने, चीनले दियो सहमति

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको रसुवागढी नाका सञ्चालनका लागि चीनले सहमति दिएको छ । उक्त नाका सञ्चालनमा ल्याउन चीनले सहमति दिएसँगै उक्त नाका सञ्चालनमा आउने निश्चित भएको हो । कोरोना भाइरस संक्रमण फैलनसक्ने डरले उक्त नाका गएको माघ १५ गतेदेखि बन्द भएको थियो ।

चीनसँग सञ्चालनमा रहेको अर्को सिन्धुपाल्चोकको तातोपानी नाका भने यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सुरुमा स्थानीयले कोरोना भाइरस भित्रन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएको कारण नाका सञ्चालनमा आउन सकेको थिएन ।
रसुवागढी नाका सञ्चालनमा आएपछि पहिलो चरणमा चीनको केरुङमा अड्किएका सामाग्री ल्याइने भएको छ ।

यो नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय बताइएको छ । नेपाली सवारीलाई त्यहाँसम्म गएर सामग्री ल्याउन दिने वा चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याउने भन्ने विषयमा स्थानीय प्रशासनले निर्णय गरेर सञ्चालनमा ल्याउने भएका छन् ।

सवारी चालक तथा सहचालक जाँदा स्वास्थ्य परीक्षण गराएर जाने व्यवस्था मिलाइने छ । नाका सञ्चालन गर्नका लागि कुनै पनि समस्या नरहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

उक्त नाका प्रयोग गरी चीनबाट रेडिमेट कपडा, इलेक्ट्रोनिक सामान, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री लगायतका सामानहरु आयात हुँदै आएको थियो ।

नेपालबाट भने बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामाग्री चीनतर्फ निर्यात हुने गरेको छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । कोरोना भाइरस संक्रमण त्रासका बीच यो नाका सञ्चालनमा आएपछि हाल भने त्यतिको संख्यामा सवारी साधान आवत जावत नहुने अनुमान लगाएको छ ।

रसुवागढीको केरुङ्ग नाकालाई चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij