ई–आर्थिक, काठमाडौं : नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजलाई विदेशमा अफ्ठयारोमा परेका नेपालीहरुलाई लिन पठाइने भएको छ । आज बुधबार अन्तिम निर्णय हुने सरकारी स्रोतले उल्लेख गरेको छ । सरकासँग ती जहाज पठाउने सम्बन्धमा सैद्धान्तिक सहमति भइसकेको जनाइएको छ ।
नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई वटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुई वटा न्यारोबडी विमान रहेको छन् । त्यसैगरी हिमालय एयरलायन्ससँग १ सय २८ सिट क्षमताको एउटा एयरबस–३१९ र १ सय ५८ सिट क्षमताका तीन वटा एयरबस–३२० गरी चार वटा न्यारोबडी जहाज रहेको छन् । यीबाहेक विदेशी वायु सेवाबाट पनि विदेशमा अलपत्र परेका नेपाली आउने छन् । त्यसैगरी श्रम गन्तव्य भएका मुलुकबाट कतिपय कामदारका कम्पनीको खर्चमा उतैका जहाजले पनि नेपाली यात्रुलाई ल्याउन पाउने भएका छन् ।
त्यसैगरी नेपाली विमानबाट ल्याउने यात्रुहरुले कति भाडा तिर्ने विषयमा बुधबार नै पर्यटन मन्त्रालयल, नागरिक उड्डयन प्राधिकरण, निगम र हिमालय एयरलायन्सका पदाधिकारीबीच छलफलबाट निर्णय हुने बताइएको छ ।
नेपाल वायुसेवा निगमले काठमाडौंबाट २६ वटा गन्तव्यमा उडान गर्न सकिने जनाउँदै पर्यटन सचिव केदारबहादुर अधिकारीसमक्ष भाडासहितको सूची बुझाइसकेको छ ।
उक्त प्रस्तावमा निगमले वाइडबडी र न्यरोबडीको भाडादर फरक नहुने जनाएको छ ।
विदेशमा अलपत्र परेका कामदार नेपाल आउन चाहे पनि कतिपय उनीहरुसँग खर्चको अभाव रहेको छ । खर्च अभावसँगै अफ्ठ्यारोमा परेका कामदारहरुलाई सरकारले तत्काल उद्दार गर्नुपर्ने आवश्यकता रहेको छ । कतिपय कामदारलाई कम्पनीले खान खाने समेत खर्च नदिएको अवस्थामा उनीहरु विजोग अवस्थामा रहेका छन् ।