ई-आर्थिक, काठमाडौं । अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली आँधी आउन लागेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। केही घण्टामा नै उक्त आँधी जमिनमा बज्रने बीबीसीले जनाएको छ।
आँधीका कारण उक्त क्षेत्रमा मुसलधारे पानी पर्नुका साथै हावाहुरी चल्ने र समुद्रमा आठ मिटर अग्ला सम्मका छाल आउन सक्ने अनुमान गरिएको छ। कतिपय क्षेत्रमा आँधीको प्रभाव देख्न सुरु भइसकेको बताइएको छ।
अग्नि तथा आपत्कालनीन सेवा विभागका अधिकारीहरुले यस किसिमको आँधी ‘एक दशकमा एक पटक’ आउने बताएका छन्। तटीय क्षेत्रमा बस्दै आएकाहरुलाई सतर्क रहन र सुरक्षित स्थान तर्फ जान भनिएको विभागले जनाएको छ।
मौसम विभागका अनुसार यो प्रतिकूल मौसम उष्णप्रदेशीय आँधी माङ्गा चिसो हावासँग मिसिएपछिको परिणाम हो। तटीय क्षेत्रमा १०० किमि प्रति घण्टाको दरले हावा बहने र केही ठाउँमा त्यो गति १३० किमि प्रति घण्टासम्म रहने मौसम विभागले जनाएको छ। केही क्षेत्रमा १०० मिमि सम्म पानी पर्नसक्ने भनिएको छ।
यो मौसम प्रणालीले आइतवार पश्चिमी तटीय क्षेत्रमा हान्नेछ भने सोमवारसम्म त्यस्तै अवस्था रहने पनि आकलन गरिएको छ।