ई आर्थिक, काठमाडौं । २०७७ सालका दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । दशैंको टीका कात्तिक १० गते परेको छ भने तिहारको भाइटीका मंसिर १ गते परेको छ ।
२०७७ सालमा मलमास परेकाले चाडपर्व एक महिना पछि धकेलिएको हो । धर्मशास्त्रका अनुसार मलमास परेको वर्ष चाडपर्वहरु सामान्यतया एक महिना पर सर्छन् र यो प्रत्येक तेस्रो वर्षमा पर्छ ।
गृह मन्त्रालयले २०७७ सालमा दिइने सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । जसअनुसार दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ ।
त्यस्तै सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ । कात्तिक २९ गते लक्ष्मी पूजा शनिबार परेको छ । ३० गते आइतबार म्ह:पूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ ।