जर्मनी । कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ ।
त्यहाँ चान्सलर एङ्गेला मर्कलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनी पनि क्वारान्टीन अर्थात् एकान्तवासमा गएको उनका प्रवक्ताले बताएका छन् ।
जर्मनीले कोरोनाभाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक अन्तर्क्रियाहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ ।
टेलिभिजनमा प्रसारित सम्बोधनमा चान्सलर मर्कलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताइन् ।
उनले घोषणा गरेका नियमहरूअनुसार केशशृङ्गार गृह एवम् ब्यूटी तथा मसाज पार्लर पनि बन्द हुनेछन् ।
अन्य अनावश्यक पसलहरू यसअघि नै बन्द गराइएका थिए ।
‘नयाँ नियमहरू निकै नै कडा छन् । सार्वजनिक स्थानमा एक अर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ । तपाइँ कार्यालय वा चिकित्सककहाँ जान सक्नुहुन्छ र स्वच्छ हावाका लागि एक्लै बाहिर निस्किन सक्नुहुन्छ । अन्य लगभग सबै सार्वजनिक जमघट प्रतिबन्धित गरिएको छ’, संवाददाता डेमियन मक्गिनेजले बताए ।
एंगेला मर्कलले सम्बोधन गरेको केही समयपछि उनको कार्यालयले उनी स्वयम् क्वारन्टीनमा बस्ने बताएको छ ।
शुक्रवार उनलाई न्युमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारन्टीनमा बस्नुपरेको हो ।
उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने मर्कलका प्रवक्ताले बताए। उनी ६५ वर्षकी छन् ।
युरोपको सबभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणका १८,६१० घटना पाइएका छन् । उक्त भाइरसको सङ्क्रमणबाट लाग्ने रोग कोभिड-१९ ले त्यहाँ ५५ जनाको ज्यान गइसकेको छ ।
के छ इटलीको अवस्था ?
महामारी फैलिएयता पहिलो पटक इटलीमा नयाँ सङ्क्रमणको वृद्धि दरमा केही कमी देखिएको छ । आइतवार उक्त वृद्धि दर नौ प्रतिशत रह्यो ।
बितेका २४ घण्टामा त्यहाँ ६५१ जनाको ज्यान गएको छ। यो सङ्ख्या शनिवारको भन्दा कम हो । बीबीसीका रोमस्थित संवाददाताका अनुसार इटलीका लागि यो साता सामु महत्त्वपूर्ण छ र यही बेला सङ्क्रमणको दर घट्दै जाला कि नजाला भन्ने प्रस्ट हुनेछ ।
के छ न्यूयोर्कको स्थिति ?
अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणले निकै प्रभावित भएको न्यूयोर्कका नगरप्रमुख बिल डे ब्ल्याजियोले सङ्घीय सरकारले जनस्वास्थ्य सङ्कटसँग सङ्घर्ष गर्न तदारुकता नदेखाए त्यहाँका अस्पतालमा चाँडै नै अत्यावश्यक सामग्री अभाव हुने चेतावनी दिएका छन् । उक्त सहरमा हाल ८,००० जनाभन्दा धेरैलाई सो सङ्क्रमण देखिएको छ ।
ब्लाजियोका अनुसार अबको १० दिनमा त्यहाँ सर्जिकल मास्क, भेन्टिलेटर तथा अन्य महत्त्वपूर्ण सामग्रीको अभाव हुनेछ ।
उनले ट्रम्प प्रशासनले सेना परिचालन गर्नुपर्ने बताए ।
अमेरिकामा ३१,००० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३९० जनाको ज्यान गएको छ ।
बीबीसीबाट ।