बीबीसी । प्रख्यात चिनियाँ व्यवसायी तथा परोपकारी ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोनाभाइरसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
शनिवार बिहान एउटा ट्वीट गर्दै उनले १८ लाख मास्क, २१०,००० टेस्ट किट, ३६,००० सुरक्षित पोसाक (प्रोटेक्टिभ सुट), केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन् ।
‘यो चाँडै पुर्याउन सहज छैन । तर हामीले यो सम्पन्न गर्ने छौँ’, उनले ट्वीटमा लेखेका छन् । कुन मुलुकलाई कुन सामान कति परिमाणमा दिइने हो भन्ने कुरा भने ट्वीटमा खुलाइएको छैन ।
सहयोग दिइने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दि, म्यान्मार, पाकिस्तान र श्रीलङ्का पनि छन् । ज्याक माले अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।
नेपाल सरकारले कोरोनाभाइरस टेस्ट किटसहित अन्य सामग्रीको अभाव रहेको बताउँदै आएको छ । अधिकारीहरूका अनुसार काठमाण्डूमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष छन् ।
त्यसबाहेक थप २३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको बताइएको छ ।