बीबीसी । कोरोनाभाइरसको सङ्क्रमण विश्वका १५८ भन्दा धेरै देशमा देखा परेको छ र विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ ।
पाठकहरूका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ ।
१. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो ? – जिलियान गिब्स
वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ। तर केही मानिसमा त्योभन्दा निकै ढिलो लक्षण देखिन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले लक्षण नदेखिने अवधि बढीमा १४ दिनसम्म हुने जनाएको छ। तर केही अनुसन्धानकर्ताहरू त्यो अवधि २४ दिनसम्म हुन सक्ने ठान्छन् ।
त्यो अवधिबारे जान्नु र बुझ्नु निकै महत्त्वपूर्ण हुन्छ। त्यसले भाइरसको सङ्क्रमणको प्रकोप थप प्रभावकारी ढङ्गले नियन्त्रण गर्न चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूलाई अवसर दिन्छ ।
२. कोरोनाभाइरस लागेर सन्चो भएपछि त्यसबाट पूर्ण रूपमा मुक्त भइन्छ? –रुबीरेड, ट्वीटर
त्यसो भनिहाल्नु निकै हतार हुन्छ । यो भाइरस डिसेम्बर महिनाको अन्त्यदेखि मात्र देखिएको हो । तर कोरोनाभाइरस र अन्य भाइरस बारेका अनुभवले तपाईँमा रोगप्रतिरोधक क्षमता हुनुपर्छ जसले सङ्क्रमणबाट जोगाउँछ ।
सार्स र अन्य कोरोनाभाइरसहरूबाट हामीले पुन : सङ्क्रमण भएको देख्नुपरेको छैन । चीनमा अस्पतालबाट फिर्ता पठाइएकाहरूमा पनि फेरि सङ्क्रमण देखिएका समाचारहरू आएका छन् ।
तर ती परीक्षणहरूबारे निश्चिचिन्त भएर केही भन्न सकिने अवस्था छैन । मुख्य कुरा उनीहरूमा अहिले सङ्क्रमित छैनन् ।
३. कोरोनाभाइरस र फ्लुबीच के फरक छ ? –ब्रेन्ट स्टार,ओरेगन, अमेरिका
कोरोनाभाइरस र फ्लुका कैयौँ मिल्दाजुल्दा लक्षण हुन्छन् । परीक्षणविना त्यो पत्ता लगाउन गाह्रो हुन्छ ।
मुख्य रूपमा कोरोनाभाइसको सङ्क्रमणमा ज्वरो र खोकी देखिन्छ । फ्लुमा सामान्यता अन्य लक्षण पनि हुन्छन् । जस्तो स्वर भासिने । जबकि कोरोनाभाइरसका कारण सास फेर्न गाह्रो हुन्छ ।
४. अलग बस्दा के गर्ने ? –एलान गेल,चेशायर
सेल्फ आइसोलेसन भनेको १४ दिनका निम्ति घरमा अलग भएर एक्लै बस्नु हो । काम, स्कूल वा सार्वजनिक स्थालमा नजाने र ट्याक्सी वा सार्वजनिक यातायात प्रयोग गर्नु हो । घरभित्रै पनि अन्य व्यक्तिबाट छुट्टै बस्नुपर्छ ।
केही सामानको खाँचो परेमा घर(कोठाको सङ्घारसम्म मगाउन सकिन्छ । तर कसैसँग भेट्नु हुँदैन । घरपालुवा जनावरबाट पनि टाढै रहनुपर्छ । यदि त्यो सम्भव नभए तीनलाई छुनुअघि र पछि हात धुनुपर्छ ।
५. दम भएका मानिसका निम्ति कोरोनाभाइरस कति खतरनाक हुन्छ ? –लेस्लीएयान, यूके
कोरोनाभाइरस जस्ता श्वासप्रवासको सङ्क्रमणले दमको असर झन् बढाउन सक्छ ।
आज्मा यूकेको सल्लाह यस्तो छ : भाइरसका कारण जसलाई चिन्ता छ उनीहरूलाई दमबाट जोगिन शृङ्खलाबद्ध रूपमा विभिन्न उपायहरू अपनाउनुपर्छ ।
जस्तो चिकित्सहरूले दिएको सल्लाह अनुसार दम रोक्नका निम्ति सुघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ । त्यसले कोरोनाभाइरस लगायतका श्वासप्रश्वासलाई प्रभावित पार्ने भाइरसको आक्रमणको जोखिम कम गर्छ ।
६. स्कूल बन्द हुँदा अभिभावकलाई आर्थिक सहयोग हुन्छ ? – रिचार्ड, इस्टलेह
रोजगारदाताले घरेलु समस्या टार्ने जोहो गर्न तपाईँलाई अवसर दिनुपर्छ तर उनीहरूले रकम दिँदैनन् ।
त्यो समयभित्र तपाईँले पर्याप्त व्यवस्था गर्नुपर्छ । तपाईँले बेतलबी बिदा पनि लिन सक्नुहुन्छ ।
यदि तपाईँलाई सङ्क्रमण भएमा सुविधानको निम्ति आवेदन दिन सरकारले नियमहरू खुकुलो बनाएको छ ।
७. के ढोकाको ह्यान्डलबाट पनि सङ्क्रमण सर्छ र त्यसमा कति समयसम्म भाइरस रहन्छन् ? –जीन जिमेनेज, पनामा
यदि भाइरस सङ्क्रमित कुनै मानिसले खोक्दा हातले छोप्यो र उसले केही छोयो भने त्यो आसपासमा भाइरस फैलिन सक्छन् ।
ढोकाको ह्यान्डल त्यस्तो जोखिम हुन सक्ने एउटा राम्रो उदाहरण हो ।
भाइरस त्यस्ता ठाउँमा केही दिन जीवित रहन सक्ने विज्ञहरूको ठम्याइ छ ।
त्यसैले भाइरसको विस्तार र सङ्क्रमणको जोखिम कम गर्न नियमित रूपमा हात धुनु राम्रो हुन्छ ।
८. सार्वजनिक स्वीमिङ पुल (पौडी पोखरी) मा पौडी खेल्नु सुरक्षित हो ? –एयानेट चेस्टर
अधिकांश स्वीमिङ पुल (पौडी पोखरी) को पानीमा भाइरस मार्न सक्ने क्लोरिन भनिने रसायन मिसाइएको हुन्छ । त्यसैले क्लोरिन राम्ररी मिसाइएको भए स्वीमिङ पुलको प्रयोग सुरक्षित हुनुपर्छ ।
तर यदि उनीहरूबाट ढोकाको ह्यान्डल वा त्यस क्षेत्रमा भाइरस छरिएका छन् भने तपाईँलाई भवन वा कपडा फेर्ने कोठामा सङ्क्रमित व्यक्तिबाट भाइरस सर्न सक्छ ।
र, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा नजिकै रहेको मानिसलाई सर्न सक्छ ।
९. कोरोनाभाइरस सार्ने वा सङ्क्रमित हुने जोखिम कम गर्न मैले मास्क लगाउन थाल्नुपर्छ ? –आन हार्डम्यान, म्यानचेस्टर
चिकित्सक र सर्जनले मुखमा सधैँ मास्क लगाउँछन्, तर सर्वसाधारणले लगाउँदा त्यसले फरक पार्छ भन्ने निकै कम प्रमाण छन् ।
पब्लिक हेल्थ इङ्गल्यान्डले कोरोनाभाइरसबाट जोगिने उद्देश्यले मास्क लगाउन आफूले सिफारिस नगर्ने बताएको छ ।
स्वास्थ्य निकायबाहिर मास्कको प्रयोगले सङ्क्रमणबाट जोगिन फाइदा गर्ने भन्ने निकै कम प्रमाण भएको उसको भनाइ छ ।
विज्ञहरूले नियमित हात धुने र मुखमा हात पुर्याउने बानी रोक्ने जस्ता स्वस्थ वातावरण निकै प्रभावकारी हुन्छन् ।
१०. बालबालिकामा कत्तिको जोखिम हुन्छ ? –लुइस, लन्डन
चीनको तथ्याङ्क अनुसार सामान्यतया कोरोनाभाइरसबाट बालबालिका तुलनात्मक रूपमा कम सङ्क्रमित भएको देखिएको छ ।
उनीहरूमा सङ्क्रमणविरुद्ध सहजै लड्न सक्ने क्षमता भएकोले यस्तो भएको हुनुपर्छ ।
उनीहरूमा सामान्य रुघाखोकी जस्तो वा कुनै लक्षण देखिँदै नदेखिने कारणले पनि यस्तो भएको हुनसक्छ । तर आज्माजस्ता फोक्सोका समस्याले ग्रस्त रहने गरेका बालबालिका भने सचेत हुन आवश्यक हुन्छ किनभने त्यस्ता बालबालिकालाई नयाँ भाइरसले आक्रमण गर्न सक्छ ।
११. के अरूले पकाएको खानेकुराबाट पनि सङ्क्रमण हुन सक्छ ? –सिन मक्इन्टायर, ब्रिस्बेन, अस्ट्रेलिया
यदि सङ्क्रमित व्यक्तिले पर्याप्त सावधानी अपनाएको छैन र सरसफाइमा ध्यान दिएको छैन भने उसले तयार पारेको खानेकुराबाट पनि अरू व्यक्तिमा भाइरस सर्न सक्छ ।
खोकी लाग्दा हातमा आएको अति सानो खकार वा थुकको थोपाबाट पनि कोरोनाभाइरस सर्न सक्छ । खाना बनाउनु पकाउनु र खानुअघि आफ्नो हात राम्ररी धोएर हामी सङ्क्रमणबाट जोगिन सक्छौँ ।