ई–आर्थिक, काठमाडौँ । कोरोना भाइरस सक्रमण फैलनसक्ने डरले आज (बुधवार) बाट मलेसिया पनि ‘लकडाउन’ भएको छ । विश्वव्यापीरुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै मलेसिया सरकारले आगामी १४ दिनसम्मका लागि लक डाउनको घोषणा गरेको छ ।
मेलेसियाले लकडाउन गरेपछि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ ।
मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो ।
क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने छ तथा मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी निजी लगानीको हिमालय एयरलाइन्सले पनि आगामी मार्च ३१ सम्म क्वालालम्पुर गन्तब्यको उडान स्थगित गरेको छ । सो एयरलाइन्सले एक सार्वजनिक सूचनामार्फत सो जानकारी गराएको हो ।