ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम पुँजी बजारमा लगानी गर्न सकिने बताएका छन् । बीमा ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे अर्थ समितिमा बुधबार भएको छलफलमा बोल्दै उनले पुँजी बजारमा बीमाको रकम परिचालन गर्न सकेमा बजारमा स्थायीत्व कायम हुने उल्लेख गरे ।
मन्त्री खतिवडाले राष्ट्रिय बीमा संस्थान र बीमा समिति ऐनलाई खारेज गर्दै बीमा प्राधिकरण ऐन अघि सारिएको जानकारी दिए। विधेयकमा बीमा क्षेत्रको नियमनका लागि बीमा प्राधिकरण बनाउन लागिएको र यसले बीमा क्षेत्रको नियमन प्रभावकारी हुने बताए ।
यसैगरी प्राधिकरण बनिसकेपछि बीमा कम्पनीहरुलाई प्रतिष्पर्धी र अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिने मन्त्री खतिवडाको दावी थियो। हाल एक चौथाई जनसंख्या मात्र बीमाको पहुँच रहेको भन्दै यसलाई बढाउन नियमनकारी निकायको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।