ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपणका लागि अप्रेसन शुरू भएको छ ।
प्रधानमन्त्री ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण हो।मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरको टोली खटिएको श्रोतले जनाएको छ ।
डा. प्रेमराज ज्ञवालीको साथमा युरोलोजिष्ट डा. उत्तम शर्मा, डा.पवन चालिसे, मिर्गौला प्रत्यारोपणविद् तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत डाक्टरहरु टोलीमा समावेश छन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतको म्याक्स अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन डा.अनन्तकुमार पनि सहभागी छन् । भारतीय चिकित्सक डा.अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मङ्गलबार एक साताका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्कृति लिएका थिए ।
प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरले नै गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । उनलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन । मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिएको थियो। सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ ।
यसैबीच पहिलो प्रत्यारोपण भारतमा गराएका प्रधानमन्त्री ओलीले दोस्रो प्रत्यारोपण नेपालमै गर्न लागेकोमा डाक्टर तथा नागरिकले खुशी व्यक्त गरेका छन् ।
नेपाल चिकित्सक संघ र नेपाल ट्रान्सप्लान्ट सोसाइटीले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेर नेपाली डाक्टरको हौसला बढाएकोमा आभार व्यक्ति गरेका छन् । उनीहरुले नेपालका उच्च ओहोदामा रहेका व्यक्तिलाई स्वदेशमै उपचार गर्न आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै उच्च पदस्थ व्यक्तिसँगै नेता तथा कार्यकर्ताले शुभकामना दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ट्वीट गर्दै सफल प्रत्यारोपणसँगै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसैबीच वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले प्रधानममन्त्रीको उपचार सफल हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
नेपालमा यस अघि दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका १० जना सबैको सल्यक्रिया सफल भएको र समग्रमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएको भन्दै उनले ढुक्क हुन आग्रह गरे।