ई–आर्थिक, काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले एशियाली ऋण महासंघको सहयोगी सदस्यता लिएको छ । एशियाली ऋण महासंघको आयोजनामा फाल्गुण ११ गते देखि १६ गते सम्म आयोजना गरेको विशेष तालिमका विचमा उक्त सदस्यता प्राप्त गरेको हो ।
महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि। सनरोकले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई सदस्यता प्रमाण पत्र तथा एशियाली ऋण महासंघको झण्डा हस्तातन्तरण गरी विभिन्न मुलकबाट सहभागी हुन आएका सहकारीकर्मीहरुको विचमा सदस्यता प्रदान गरिएको घोषणा गरे ।
सहयोगी सदस्यता लिए पश्चात एशियाली ऋण महासंघले एशियामा सञ्चालन गरिरहेको बचत तथा ऋण सहकारी विकास कार्यक्रममा चन्द्रागिरि साकोसको सहयोग र सहभागिता रहनेछ ।
चन्द्रागिरि साकोस शहरी क्षेत्रमा सञ्चालित भएर पनि समुदायमा आधारित रही पूर्ण रुपमा सदस्य केन्द्रित भई शुसासनको परिधिभित्र सञ्चालन भईरहेकोले उक्त सदस्यता दिन सकिएको कुरा पनि महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीले प्रकाश पारे ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय सहकारी संघ मार्फत ३ दशकदेखि र विगत केही वर्ष देखि राष्ट्रिय सहकारी बैंक मार्फत समेत विभिन्न प्रविधिहरु हस्तान्तरण गर्दै खासगरी नेपालको बचत तथा ऋण सहकारी अभियानलाई शुसासित, व्यवसायीक र सुरक्षित बनाउनको लागि एशियाली ऋण महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डिंग कार्यक्रम सोही संघको प्राविधिक सहयोगमा नेफ्स्कुन मार्फत हाल नेपालमा सञ्चालन भईरहेको छ । यस अघि संस्थागत विकास परियोयाजना, संस्था व्यवसायीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।