ई आर्थिक, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयले केही राजनीतिक संकेत गरेको छ । उनी अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा आउन सक्ने संकेत देखिएको छ । राष्ट्रिय सभाको सदस्य रहेका अर्थमन्त्री डा. खतिवडाको अबधि यही १८ गते सकिदै छ । उनी नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित सांसद हुन ।
राष्ट्रिय सभामा अब एक सिट मात्र रिक्त स्थान छ, त्यो भनेको नै राष्ट्रपतिद्वारा मनोनित कोटा हो । प्रत्येक दुई बर्षमा रिक्त हुने एक तिहाई पदहरु निर्बाचन भएर पुर्ति भइसकेका छन् । अब दुई बर्षपछि मात्र एक तिहाई पद रिक्त हुनेछन् । त्यसैले नेकपाको सचिबालयको निर्णयलाई हेर्दा डा. युबराज खतिवडालाई मनोनित गरिएको कोटामा बामदेबलाई ल्याउने तयारीका रुपमा हेरिएको छ । अबको दुई बर्षपछि ल्याउन अहिले नै निर्णय गर्न नपर्ने हुदा रिक्त राष्ट्रपतिको कोटामा ल्याउन लागिएको चर्चा भएको हो । ‘बामदेबलाई तत्काल ल्याउन सकिने बाटो त्यही नै हो ।’ नेकपाका एक नेताले भने ‘राजीनामा गरेपछि निर्बाचनमा जानुपर्ने हुन्छ । यो लम्बेतान प्रक्रिया हुने र जनताका बिचमा नराम्रोसँग आलोचना पनि हुने हुदा नेत्तृत्वले राष्ट्रपतिको कोटाबाट छिराउन खोजेजस्तो देखिन्छ ।’
करिब २० महिनाअघिदेखिको कसरतलाई सार्थक बनाउँदै नेकपाका नेताहरु पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत हुने विषयमा सहमत गराउन सफल भएका हुन् । अब गौतमलाई मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भई वामदेव गौतम पहिलो बरियताको उपप्रधानमन्त्री र कुनै मन्त्री हुने जस्तो देखिन्छ । उनलाई अर्थमन्त्री बनाउन पनि लबिङ सुरु भएको स्रोतले जानकारी दिएको छ । पार्टी अध्यक्ष प्रचण्ड र महासचिब बिष्णु पौडेल उनलाई अर्थमन्त्री बनाउने लबिङमा छन् । अध्यक्ष केपी भने निकै सकसमा रहेको बुझिन्छ । उद्यपि उनी सचिबालयमा अल्पमतमा रहेकाले प्रचण्ड हाबी हुन सक्ने देखिएको छ ।