ई–आर्थिक, काठमाडौँ । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ। सिइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ लागि परेका छन् ।
मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको सो पद लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सिइओको छुट्टै आकर्षण छ ।
आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सिइओ मानिन्छ। बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो।
प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आज साँझसम्म टुङ्गो लाग्नेछ ।
बोर्डको सिइओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता भइसकेको छ ।
शुक्रबार र शनिबार सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ । प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले हामीलाई जानकारी दिए ।
छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ ।
प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सिइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ ।
सरकारी पाँच र निजी क्षेत्रका ६ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।
समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सिइओ नियुक्त गरिनेछ। बोर्डको सिइओको कार्यकाल चार वर्षको हुनेछ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत मङ्सिर १८ गते विज्ञापन प्रकाशित गरेको थियो । विज्ञापन प्रकाशित भएसँगै १७ जनाले आवेदन दिएका थिए ।
त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।
प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सिइओ दीपकराज जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा छ ।