२०८३ साउन ९ शनिबार

पशुपतिमा पर्यटन मन्त्रीकाे आठ घण्टा : मठमन्दिरदेखि शाैचालयसम्मकाे निरीक्षण

ई आर्थिक    आइतबार, पौस २७ २०७६
5K
Shares
पशुपतिमा पर्यटन मन्त्रीकाे आठ घण्टा : मठमन्दिरदेखि शाैचालयसम्मकाे निरीक्षण

ई–आर्थिक, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले शनिबार पशुपतिनाथ क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ ।

मन्त्री भट्टराईले पशुपति क्षेत्र विकास कोषको चार किल्लाभित्रको समग्र क्षेत्रको आठ घण्टा पैदल हिँडेर निरीक्षण गर्नु भएको हो । पर्यटन मन्त्रीका साथमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल लगायतकाे सहभागिता रहेकाे थियो ।

मन्त्री भट्टराईले पशुपतिनाथको मूल मन्दिरसँगै अन्य धार्मिक महत्वका मठमन्दिरको अवलोकन गर्नु भएको थियो । त्यसैगरी भूकम्पपछिको पुनर्निर्माण भएका सम्पदा र पुनर्निर्माण हुन बाँकी सम्पदा, प्रमुख बगैँचा, धर्मशाला, गौशाला, भेटीघाटी व्यवस्थापन, मन्दिरको सुरक्षा, घाट व्यवस्थापन, धारा, पानी, बिजुली तथा पशुपति परिसरभित्रका सार्वजनिक शौचालयको अवस्था, कैलाश क्षेत्र, मृगस्थली, गौरीघाट क्षेत्रलगायत स्थलको हिँडेरै अवलोकन गर्नु भएको थियो ।

मन्त्री भट्टराईले पशुपति क्षेत्र परिसरको सरसफाइ, तीर्थयात्रीको समस्या आदिबारे स्थलगत जिज्ञासा राख्नु भएको थियो । मन्त्रीसहितको टोलीले गोठाटारमा रहेकाे कोषको तीन सय ३४ रोपनी क्षेत्रफलको जग्गाको पनि अवलोकन गरेको थियो । त्याे ठाउँमा अन्तर्राष्ट्रिय धार्मिकस्थल बनाउने जनाइएको छ ।

निरीक्षणका क्रममा मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्रको समग्र सुधार र आगामी योजनाबारे तीन दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न कोषलाई निर्देशन पनि दिनुभयाे । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij